Suvakamana

पाँच कक्षा तीन कोठाबाट संचालन, जीर्ण भवनमा छैन नगरको नजर

दार्चुला– जस्ता पाताले छाएका ! त्यो पनि खिया लागेका ! तीन ओटा भवन छन् महाकाली नगरपालिका–७ स्थित लटिनाथ आधारभूत विद्यालय (०–५) थालिगाडमा । लहरैमा रहेका ती भवनको बीचको भवन भने जति बाहिरबाट देख्दा जीर्ण देखिन्छ, भित्र त्यो भन्दा पनि नाजुक अवस्था छ । विद्यार्थीलाई राखेर पढाउन सकिने अवस्था नै छैन् ।

जसले गर्दा पाँच ओटा कक्षा तीन ओटा कोठाबाट संचालन गर्नुपर्ने बाध्यता छ । कक्षा १, २ र ३ लाई एक कोठामा अटाएर अध्यापन भइरहेको छ भने कक्षा ४ र ५ अन्य दुई कोठामा अटाएका छन् । तल्लो कक्षामा बहूकक्षा शिक्षण गराउँदा पनि उपयुक्त ठहरिने भएपनि यहाँ भने कक्षाकोठा अभावमै यस्तो गरिएको हो । जिल्ला सदरमुकाम खंलगास्थितको महाकाली नगरपालिकाको मूख्य सडक छेउमै रहेको विद्यालयको अवस्था हो यो ।

भवन अभावका कारण एकै कोठामा तीन कक्षाका विद्यार्थी राखेर पठनपाठन गराइरहेको लटिनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक लालमती रैखोलाले बताए । विद्यालय भवनको लागि नगरपालिका संग पटक–पटक माग गरिएपनि अहिलेसम्म सुनुवाई हुन नसकेको उनले बताए ।

जीर्ण विद्यालय भवनबारे महाकाली नगरपालिकाबाट समेत अनुगमन भएको थियो । नगरप्रमुख नरसिंह चैसिरको विद्यालयमा अनुगमन निरीक्षण भ्रमणबाट पुनःनिर्माण र विद्यालय भवन बनाउने आश्वासन पाएको प्रधानाध्यापक रैखोलाले सुनाए ।

जीर्ण विद्यालय भवनका तस्बीर अहिले सामाजिक सञ्जाल फेसबुकमा समेत पोष्टिरहेका छन् । महाकाली नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा क्षेत्र रहेको भन्ने अभिव्यक्तिलाई अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यङ्ग गर्दै गिज्याइरहेका छन् । २०५३ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले ४५ जना विद्यार्थी छन् भने ५ जना शिक्षक कर्मचारी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.