दार्चुला – सडक नियमित रुपमा यथाशिघ्र सुचारु गर्न र विद्युत लाइन व्यवस्थित गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइएको छ ।
बुधवार मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले मालिकार्जुन–भगवती–थाप्ला–दत्तु सडक नियमित सुचारु र बेतबाट बिस्तार भएको विद्युत लाइन व्यवस्थितको माग गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई ज्ञापन बुझाउनुभएको हो ।
ठेकेदारको विवाद र ढिलासुस्तीका कारण मालिकार्जुन–भगवती–थाप्ला–दत्तु सडकको काम अगाडी बढ्न नसकेको भन्दै यथाशिघ्र निर्माण कार्य थाल्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइएको निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले बताए ।सडकको पहुँचबाट टाढा रहेका मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र २ का जनताको जनगुनासोलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण स्वरुप प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको उनले बताए ।
नेपाली काँग्रेस मालिकार्जुन गाउँपालिका–१ नम्बर वडा कार्य समितिको बैठकले उक्त सडकमा आवश्यक बजेट व्यवस्थापन गरी अबिलम्ब सडक निर्माण कार्य संचालन गर्न भौतिक पूर्वाधार कार्यालय बैतडीलाई अनुरोध गर्ने र यसको पहलको लागि संघीय र प्रदेश सांसदहरुलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए । यो सडकको २०७२/७३ सालदेखि निर्माण कार्य थालिएको बताइएको छ ।
यस्तै मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को भर्तौला क्षेत्रबाट बिस्तार भएको मुख्य विद्युतको लाइन व्यवस्थितका लागि पनि ज्ञापन बुझाइएको छ ।
महाकाली नगरपालिका–९ को बेतदेखि लेक उलेनी हुँदै भर्तोला, डुङरी, सुत्तने, रेबली सजानी, मेलखेतमा संचालन भइरहेको उक्त विद्युतीय लाइन हावाहुरीका कारण बेलाबेला अवरुद्ध हुने समस्या रहेकाले बेतदेखि सडक किनारा हुँदै भर्तोलासम्म बिस्तार गरी दिन माग गरिएको निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले बताए । नेपाली काँग्रेस वडा समितिको निर्णयसहित आफूले नेतृत्व गर्दै प्रशासन धाएको उनले बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सडक निर्माणको कार्य सुचारुका लागि केहि दिन अघि मात्रै ठेकेदारसहित दुई पक्षबीच सहमति गराई निर्माण कार्य थाल्न निर्देशन दिएको जानकारी गराउँदै काम नहुने स्थिति आयो भने थप कारवाहीका लागि प्रतिवद्ध रहने जनाए ।