दार्चुला– दार्चुलाको भारतसँग सीमा जोडिएको पुलघाट नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले ७ महिनादेखि तलब पाएका छैनन् । चालू आर्थिक वर्षको कात्तिक महिनादेखि त्यहाँका स्वास्थ्यकर्मीहरुले तलब नपाएका हुन् । नाकामा बिना पारिश्रमक काम गरिरहेका उनीहरु तलब आउने/नआउने सुनिश्तिता नहुँदा निराश बनेका छन् ।
‘कात्तिक महिनादेखि तलब पाएका छैनौँ, यत्तिका महिना रित्तो हात रहँदा घर खर्च धान्न धौधौ भइसक्यो, हेल्थडेस्कमा कार्यरत अहेब निरु जोशीले भने– ‘बिना तलब ६ घण्टा सीमामा खटिएर काम गरिरहेका छौँ ।’ दार्चुलाको पुलघाट हेल्थडेस्कमा ३ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
पुलघाट हेल्थडेस्कमा कार्यरत अनमी ज्योति जोशीले बजेट अभाव देखाएर आफूहरुलाई तलब उपलब्ध हुन नसकेको बताए । ‘सम्बन्धित निकायमा खबर गर्दा बजेट निकासा भएको छैन् भन्ने जवाफ आउँछ,’ जोशीले भने–‘अहिलेसम्म आफ्नो डिउटी गर्दै आइरहेका छौ, महिनौँदेखि तलब नपाउँदा दैनिकी चलाउन समस्या भइसक्यो ।’ साउन, भदौ र असोज महिनाको मात्रै तलब पाएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुर, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट गरी ५ वटा हेल्थ डेस्क स्थापना गरिएको छ । पुलघाट हेल्थ डेस्कमा ५ जना स्वास्थ्य कर्मचारी कार्यरत छन् ।
जसमध्ये २ जना स्वास्थ्य कार्यालयबाट तलब खाने गरेर कार्यरत छन् । उनीहरुको मात्रै नियमित रुपमा पारिश्रमिक आइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बजेट अन्तरगत भर्ना भएका अन्य ३ जनाको भने पारिश्रमिक आएको छैन् ।
स्वास्थ्य सेवा विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका पाँच वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मीहरु महिनौदेखि तलब बिहीन छन् । यस्तै तलबबिहीन स्वास्थ्यकर्मीहरुले जेठ महिनादेखि आन्दोलनमा उत्रने तयारीसमेत गरेका छन् ।