दार्चुला– दार्चुला आगलागी पीडित परिवारलाई इशा फाउन्डेसन नेपालले सहयोग गरेको छ । आइतबार पीडित परिवारको घरमै पुगेर २० हजार बराबरको खाद्य राहत सामग्री वितरण गरिएको हो । शैल्यखिर नगरपालिका –९ ठुलिशैनी बस्ने नरेश दमाईको घरमा वैशाख १५ गते आगलागी भएको थियो ।
एक्कासि जगंलमा लागेको आगो बस्तीमा पस्दा बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको थियो । आगोले घर सखाप भएको खबर पाएपछि राइट सञ्चारका अध्यक्ष अर्जुन विष्टले पीडित परिवारलाई सहयोग गर्न सबैमा अपिल गरेका थिए । दार्चुलाको विकट गाउँमा जन्मिएर काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका विष्टले समाचार नै सार्वजनिक गरेपछि उक्त सहयोग रकम रकम उठेको हो ।
घर जलेर नष्ट भएपछि बिचल्लीमा परेको दमाईं परिवारलाई लालिगुरास मिडिया नेटवर्कका अध्यक्ष तथा इशा फाउन्डेसन नेपालका सचिव कमल सरगमको विशेष पहलमा सहयोग हस्तान्तरण गरिएको हो । पीडित परिवारलाई केही राहत होस भन्ने हेतुले २० हजार बराबरको खाद्य राहत सामग्री वितरण गरिएको विष्टले बताएका छन् ।
पीडित दमाई को परिवारलाई स्थानीय तहले समेत वास्ता नगरेपछि आफैँले रकम उठाएर दिएको विष्टको भनाई छ । लालिगुरास मिडिया नेटवर्कका अध्यक्ष कमल सरगम र राइट सञ्चारका अध्यक्ष अर्जुन विष्टले दमाई को परिवारलाई काठमाडौँबाटै सहयोग रकम पठाएका थिए । कार्य व्यस्तताका कारण पीडित परिवारको घरसम्मै पुग्न नसकेका विष्ट र सरगमले आफ्नो टिमका सदस्यलाई सहयोग वितरण गर्न पठाएका थिए ।
खाद्य राहत सामग्री वितरण गर्न घरमै पुगेका कृष्ण विष्ट र उत्तम विष्टलाई पीडित परिवारले आफूलाई स्थानीय तहले वास्ता नगरेको भन्दै दुखेसो पोखेका थिए भने इशा फाउन्डेसन नेपाल परिवारलाई खुसी हुदै धन्यवाद दिएका थिए । पछिल्लो समय इशा फाउन्डेसन नेपालको टिमले दुर्गमका पीडित परिवारलाई समेत सहयोग गर्दै आएको छ ।
यस घटनाले दमाई को परिवारलाई भारी आर्थिक क्षति पु¥याएको छ। घरबारविहीन बन्नुपरेको यो परिवारलाई बसोबास र जीविकोपार्जनका लागि अर्को चुनौती थपिएको छ । यस्तो अवस्थामा स्थानीय सरकारले मुख दर्शक बन्नु आफैमा लज्जाको विषय हो ।