खलंगाबाट पक्राउ परेका जुवाडेहरुलाई तारिखमा छोडियो

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट पक्राउ परेका १२ जना जुवाडेलाई दशैं मनाउन तारिखमा छोडिएको छ । दशै सकिए लगत्तै उनीहरुलाई पुन उपस्थिति गराइ थप कार्वाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जुवाडेहरुबिरुद्ध मुद्दा दर्ता गरि अदालतबाट १५ दिनको म्याद थप भइसकेको अवस्थामा जुवाडेहरुलाई दशैं मनाउन भन्दै छोडिएकोमा जनस्तरबाट आलोचना भइरहेको छ ।

आइतवार दिउँसो जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा जुवाखालबाट नगद २ लाख ३७ हजार ३९७ रुपैया, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैँचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान बरामद गरिएको थियो । प्रहरीले अहिलेसम्म जुवाडेहरुको नाम सार्वजनिक गरेको छैन् । पक्राउ पर्नेहरुमा नेता र व्यापारीहरुसमेत रहेको स्रोतले जनाएको छ । खलंगाको तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरबाट आइतवार दिउँसो जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका १२ जनामाथि मुलूकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्धा दर्ता गरिएको बताइएको छ ।

मुलूकी अपराध संहिता अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुनेछ भने त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवाखेल हुने गरेको छ । प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको र विस्वस्त सूचनाको आधारमा आइतबार छापा हानेको बताइएको छ । जुवाडेहरुसंग सोधपुछ तथा अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ । स्रोतका अनुसार खलंगा बजारको अन्य घर र पशलहरुमा समेत जुवाखेल हुनेगरेको छ ।

Leave A Reply

Your email address will not be published.