गृहमन्त्री लामिछाने मुछिएको सहकारीहरूको नाम उल्लेख गरेर संसदीय समिति बन्नुपर्छ: अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय समिति बैठकपछि सोमबार अपराह्न भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले मंगलबार बजेट ल्याउनुअघि सरकारले सहकारीका विषयमा संसदीय छानबिन समिति गठन गरिसक्नुपर्ने बताए।

‘भोलि सदनको कार्यसूचीमा प्रवेश गर्नुभन्दा अगाडिसम्ममा सरकारले संसदीय छानबिन समिति गठन गर्नुपर्छ,’ लिङ्देनले भने, ‘गृहमन्त्रीको नाम नराखे पनि विवादास्पद सहकारीको नाम राखेर जानुपर्छ भनेर सरकार प्रतिपक्षी दलहरूसँग समझदारीमा थियो तर पछि हट्यो। हाम्रो न्यूनतम कुरा के हो भने गृहमन्त्री मुछिएको सहकारीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बन्नुपर्छ।’

उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी बचत ठगीमा संलग्न रहेको भन्दै कांग्रेसलगायत विपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। संसदीय समिति बनाउन सत्तापक्ष तयार देखिए पनि कार्यादेशमा सहमति हुन सकेको छैन।

Leave A Reply

Your email address will not be published.