दार्चुलाको दोबाटा गाउँमा खानेपानीको हाहाकार, सबै तहका नेताहरु भने उदासीन

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटा क्षेत्रका स्थानीयले खानेपानीको चरम समस्या भोग्नु परेको छ । स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारलाई समेत खानेपानीको समस्या बारे पटक–पटक खबर गर्दा पनि बेवास्ता गरेको गुनासो स्थानीयको छ ।

यस क्षेत्रका स्थानीयहरुले वर्षौदेखि घण्टौं हिडेर खानेपानीको जोहो गर्दै आएको स्थानीयवासी हरिना खत्रीले बताईन् । ‘घरबाट पानीको मुहान जान ४५ मिनेट लाग्छ ।

आउँदा पानीसमेत बोक्नु पर्ने भएर एक घण्टा भन्दा बढी नै समय लाग्छ’ खत्रीले भनिन् । ‘यहाँ खानेपानीको समस्या कुनै नौलो होईन । हाम्रा कयौ पुस्ताले पनि यस्तै समस्या भोक्दै आएका हुन् । यस्तै अर्काे स्थानीय राम दत्त मिश्रले पनि २०६८ सालमा एक विदेशी संस्थाले त्यही मुहानको पानी ‘लिफ्ट सिस्टम’बाट गाउँमा पु¥याएको बताए ।

४५ घरधुरीका लागि तीन वटा धारा बने तर पानी भने नियमित रुपमा ल्याउन नसकिएको स्थानीयले बताएका छन् । लिफ्ट सिस्टमको क्षमता बढाउन शैल्यशिखर नगरपालिका र संघीय सरकारको संयुक्त खर्चमा अर्को आयोजना अघि बढाइएको थियो । संघीय सरकारको ५० लाख रुपैयाँ नगरपालिकाको २२ लाख रुपैयाँ थपेर ७२ लाख रुपैयाँको आयोजनाबाट दोबाटाका सबै घरमा पानी पु¥याउने लक्ष्यका साथ उपभोक्ता समितिमार्फत काम सुरु गरिएको थियो ।

आयोजना सम्पन्न हुन ४वर्ष लागेको दोबाटा लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रामसिंह खत्रीले बताए । ‘२०७८ सालमा काम सम्पन्न भएपछि ३३ घरधुरीमा पानी पुगेको थियो,’ खत्रीले भने । सौर्य ऊर्जामार्फत पानी तान्नका लागि ८ वटा प्यानल राखिएको थियो । सबै प्यानलले काम गर्दासम्म ३३ वटै धारामा पानी आएको अध्यक्ष खत्रीले बताए । अहिले ५ वटा प्यानल बिग्रीएर बन्द भइसकेका छन् भने, ३ वटा प्यानल सञ्चालनमा छन् ।

‘पानी तान्न दुई वटा पम्प चलाउने ‘कन्ट्रोल सिस्टम’ पनि बिग्रेको छ । पम्प पनि दुईवटै बिग्रेका छन्,’ अध्यक्ष खत्रीले भने, ‘एउटा पम्प किन्न साढे तीन लाख रुपैयाँ चाहिन्छ । कन्ट्रोल सिस्टम किन्न एक लाख १२ हजार चाहिन्छ । वडा कार्यालय र नागरपालिकाबाट नयाँ खरिद वा मर्मतका लागि बजेट माग गर्दा अहिले छैन भन्ने जबाफ आउने गरेको छ ।’

राजनीतिक स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई खानेपानीबाट बाञ्चित गर्नु असंवैधानिक कदम हो । नागरिकलाई खानेपानीको अधिकार दिनका लागि सबै तहको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।

Leave A Reply

Your email address will not be published.