काठमाडौं- बंगबन्धु कप कबड्डीमा नेपाली टिम उपविजेता बनेको छ । सोमबार प्रतियोगिताको फाइनल खेलमा घरेलु टिम बंगलादेशविरुद्ध ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको हो ।
बंगलादेशको राजधानी ढाकामा भएको फाइनलको दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । खेलको पहिलो हाफमा बंगलादेशले २४–१० को अग्रता बनाएको थियो । दोस्रो हाफमा २१–२१ को बराबरी अंक जोडे पनि पहिलो हाफको सहज अग्रताका कारण बंगलादेशले उपाधि घरमै राखेको हो ।
प्रतियोगितामा बंगलादेश अपराजित रह्यो । यसअघि समूह चरणको खेलमा पनि नेपाल बंगलादेशसँग ४६–३१ ले पराजित भएको थियो । दुवै टिम समूह ‘ए’ बाट फाइनलमा आएका हुन् । नेपालले समूह चरणका पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने शतप्रतिशत नतिजासहित सेमिफाइनलमा आएको थियो ।
सेमिफाइनलमा नेपालले केन्यामाथि टाइब्रेकरमा जित निकाल्दा बंगलादेशले थाइल्यान्डविरुद्ध ४१–१८ को सहज जित निकालेको थियो । सन् २०२१ देखि सुरु भएको प्रतियोगिताको हालसम्म चार संस्करण आयोजना हुँदा चारै संस्करणको उपाधि बंगलादेशले जितेको छ ।