काठमाडौं– सूर्यदर्शन सहकारीपीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झन्डा र ब्यानर देखाएका छन् । बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सभागृह अगाडि भेला भएर पीडितले कालोझण्डा र नारा लगाएका थिए ।
झन्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ पुरुष र ५ महिला छन् । उनीहरू र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको थियो । पीडितहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार साँझ पोखरा आएका हुन् ।