दार्चुला– दार्चुलाको लेकम गाउँपालिकाले एक वर्षमा तीन करोड भन्दा बढी रकम अनियमितता गरेको खुलेको छ ।
महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार लेकम गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ४९ लाख ४ हजार ३ सय ५८ रुपैयाँ अनियमितता गरेको खुलेको हो । जसमा टकना–खरकडा बचपाली सडक निर्माणमा ३ लाख १६ हजार ६ सय ४२ रुपैयाँ अनियमितता भएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
टकना–खरकडा बचपाली सडक निमार्ण वडा नम्बर ४ लेकमको सडक निमार्ण कार्य गर्नका लागि लागत अनुमान ६१ लाख ७८ हजार, ४ सय ६२ रुपैयाँ तयार गरि सबैभन्दा कम कोबल (लागत अनुमानको तुलनामा ३२.७८ प्रतिशत घटि) ४१ लाख ५२ हजार, ८ सय ६३ रुपैयाँ कोबल गर्ने पवन निमार्ण सेवासँग सम्झौता भए बमोजिम ३८ लाख ८६ हजार, ३ सय ९७ रुपैयाँ भुत्तानी गरी बचत बाकीँ रकमबाट पुन सोहि सडक लागत अनुसार तयार गरी गोश्वार भौचर नं १०–८०–३–२–२३ बाट ९ लाख ६५ हजार ९ सय ६४ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।
३ लाख १६ हजार ६ सय ४२ रुपैयाँ अनियमितता भएको महालेखाले देखाएको विवरणमा उल्लेख छ । यसरी थप व्ययभार पर्ने गरी कार्य गर्नु उचित नभएको महालेखाको ठहर छ ।
यस्तै २ दिने क्षमता अभिबृद्धि तालिममा कानुनको धज्जी उडाउँदै २ लाख १९ हजार ९६ रुपैयाँ अनियमितता भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै ओभरहेडमा २ लाख ५७ हजार, ७ सय ३७ रुपैयाँ अनियमितता भएको देखिएको छ ।
शिक्षा निमावलीले व्यवस्था गरे अनुसार विद्यालयगत शिक्षक दरबन्दी मिलान गर्नुपर्नेमा लेकम गाउँपालिकाले उपलब्ध गराएको विवरण अनुसार आधारभूत, निमावि र माविमा राहात दरबन्दी र विद्यालयको अवस्था तथा विद्यार्थीको संख्या एकिन गरी लेकम गाउँपालिकाले दरबन्दी मिलान नगरेको उक्त प्रतिवेदनमा भनिएको छ ।
दरबन्दी मिलान नहुँदा कुनै विद्यालयमा शिक्षक बढी र कुनै विद्यालयमा शिक्षक अभाव हुन गइ लेकम गाउँपालिकाकै शिक्षिक प्रणालीमा नराम्रो असर पर्न जाने भएकाले समयमै दरबन्दी मिलान गर्नुपर्ने देखाएको छ ।
यसरी नियम कानुनको धज्जी उडाउँदै बेगर शिक्षकको रुपमा लेकम गाउँपालिकाले समानीकरण अनुदानबाट वार्षिक ४ लाख १८ हजार तलब निकासा गरेको रकम नियम कानुन बिपरित देखिएको महालेखाको ठहर छ ।
यस्तै परामर्श सेवामा सार्वजनिक खरिद ऐन २०६३ को दफा २९ मा सार्वजनिक निकायमा उपलब्ध जनशक्तीबाट कुनै काम हुन नसक्ने भएमा परामर्श सेवा खरिद गर्न सकिने व्यवस्था छ । त्यस्तै दफा ३१ मा प्रस्ताव माग गर्ने प्रस्तावदाताको काम सम्बन्धि अनुभव परामर्शदाताले प्रस्तावित सम्पादन गर्ने मेथोलोजीको गणस्तर, प्रस्तावित मुख्य जनशक्तीको योग्यता जस्ता मुल्याकंनको आधारहरु तोकेको छ ।
तर लेकम गाउँपालिकाले नियम कानुनको बेवास्ता गरी सिधै खरिद गर्दा १७ लाख ८५ हजार एक सय ७४ रुपैयाँ अनियमितता भएको महालेखाको प्रतिवेदनले उल्लेख छ ।