शैल्यशिखरको एक विद्यालयमा विद्यार्थी संख्या शून्य, कार्यालय सहयोगीसहित ४ जना शिक्षक कर्मचारी

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका– ८ मा रहेको लटिनाथ आधारभुत विद्यालय मट्युलमा ७५ जना फर्जी विद्यार्थीको लिष्ट बनाई विद्यालय व्यवस्थापन समिति र कर्मचारीहरुले आर्थिक अनियमितता गरेको आरोप लागेको छ । विगत दुई वर्षदेखि उक्त विद्यालयमा विद्यार्थी नभएको र वडा नगरपालिकाबाट २ जना करार र शिक्षा समन्वयबाट एक गरी कार्यालय सहयोगिसहित चार जना कर्मचारी रहेको स्थानीयवासी राजेन्द्र पन्तले जनाकारी दिए । विद्यार्थी संख्या नभएको विद्यालयमा चार जना कर्मचारी राखी विगत दुई वर्षदेखि तलब, दिवाखाजा, छात्रवृत्ती, लगायतको सेवा सुविधा लिई कर्मचारी र विद्यालय व्यवस्थापन समितिले खादैँ आएको आरोप पन्तको छ । यस बिषयमा वडा अध्यक्ष जोशीललाई बुझ्दा विद्यालय बन्द भएको बेला अनुमगन गरेको प्रतिक्रीया दिए ।

‘गतवर्ष वडा कार्यालयभित्र रहेका ८ ओटा विद्यालयलाई वडाबाट विद्यालयको अभिलेख र विद्यार्थी संख्यासहितको जन्मदर्ता दिनु भनी म स्ंयमले पत्रचार गरेको हुँ । अन्य वडाहरुले यस्तो पहल पनि गरेको थिएन् ।’ जोशीले मालिकार्जुनखबरसँग भने, ‘प्रतिवेदनमा विद्यार्थी संख्या कम भएको कुरा पनि राखेको हुँ । विद्यालयका प्रधानाध्यपकले पनि नगरपालिकाको शिक्षा शाखामा गएर विद्यार्थी संख्या कम छ के गर्ने भनेको हो । तर यसपालि मर्ज हुने अवस्थामा थियो । यस विषमा नगरपालिकाले के–के कारणले रोकिएको छ । त्यो चाहिँ थाहाँ भएन । विद्यालयमा कार्यालय सहयोगिसहित चार जना कर्मचारी छन् । मलाई दिइएको अभिलेखमा विद्यार्थी संख्या १५ थियो । हेर्नुपर्ला त्यो सबै टोटल अभिलेख शिक्षा शाखाले हेर्ला । त्यो हामीले पनि मागेका छैन’ वडाध्यक्ष जोशीले भने ।

लटिनाथ आधारभुत विद्यालयमा अहिले विद्यार्थी संख्या शुन्य छ । तर, कार्यालय सहयोगीसहित ४ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । यता दार्चुलाको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जयराज पन्तलाई यस विषयमा जिज्ञाशा राख्दा उनले अफुलाई यसबारे गत शुक्रबार मात्रै जनाकारी भएको र त्यही दिन पत्रचार गरिसकेको बताए । ‘नगरपालिका र विद्यालयलाई शुक्रबार नै पत्र लेखेर स्थलगत अनुमगन गर्न निर्देशन दिएको छु ।

विद्यालयका प्रधानाध्यपकलाई पछिल्लो तीन शैक्षिक सत्रको विद्यार्थीको जन्मदर्ता, हाजिरीसहितको पुर्ण विवरण खुल्ने कागजपत्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउन भनेको छु ।’ प्रमुख पन्तले भने, ‘फर्जी विद्यार्थी बनाएर विद्यार्थी संख्या देखाएको सुनिएको छ । विद्यार्थी संख्या शून्य हुँदा पनि तलब, भत्ता, दिवाखाजा छात्रवृत्तीलगायत सेवासुविधा लिनु गलत हो । यसको जिम्मेवारी प्रधानाध्यपकले लिनु पर्छ ।’

लटिनाथ आधारभुत विद्यालयमा भएको गडबडी बारे शैल्यशिखर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र बहादुर बिष्टले भने विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयलाई मर्ज गर्ने प्रक्रिया सुरु भएको बताए । ‘नगर शिक्षा समितिबाट त्यहाँ भएका शिक्षकहरुलाइ अन्त व्यवस्थापन गछौं ।’ शिक्षा शाखा प्रमुख विष्टले भने, ‘अहिले विद्यालय दर्ता बालविकासमा हुन्छ । कोही नयाँ भर्ना हुने विद्यार्थी आए भने बालविकासमै भर्ना गर्न सकिन्छ ।’

लटिनाथ आधारभुत विद्यालयको भवन ।
लटिनाथ आधारभुत विद्यालयको भवन । 

यता लटिनाथ आधारभुत विद्यालयकी प्रधानाध्यपक तुलसी जोशीले चालू शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी नरहेको स्वीकार गरिकी छन् ।

नगरपालिकाले विद्यालयलाई मर्ज गर्ने भनेपछि भएका विद्यार्थी पनि भर्ना नगरेको जोशीको भनाई छ । ‘हामी विद्यार्थी नभएपनि विद्यालय समयमा जाने–आउने गछौं ।’ जोशीले भनिन्, ‘वितग दुई वर्षदेखि विद्यार्थी रहेका र यो शैक्षिक सत्रदेखि मात्रै विद्यार्थी भर्ना नलिएको हो ।’ भत्ता, छात्रवृत्ती, दिवाखाजा भने केही पनि नलिएको जिकिर प्रधानाध्यपक तुलसी जोशीको छ ।

 

Leave A Reply

Your email address will not be published.