लेकममा एक विद्यालयको बिजोग : तीन जना विद्यार्थी तीन जना कर्मचारी
विगतमा हचुवाको भरमा स्थापना गरिएका अधिकांश विद्यालयको अवस्था अहिले नाजुक ।
दार्चुला– दार्चुलाको लेकम गाउँपालिका– १ मा रहेको पञ्चदेव आधारभुत विद्यालय बिनखालीमा जम्मा विद्यार्थी संख्या ३ जना मात्रै रहेको छ । दुई जना बालविकासमा र एक जना कक्षा एकमा गरी जम्मा विद्यार्थी संख्या तीन जना रहेको पाईएको हो ।
कक्षा, दुई र तीनमा विद्यार्थी संख्या शुन्य रहेको विद्यालयका प्रधानाध्यापक कमलापती भट्टले बताए । उनका अनुसार एक जना बालविकास शिक्षक, एक जना स्थायी दरबन्दी शिक्षक र एक जना कार्यालय सहयोगी गरी विद्यालयमा जम्मा तीन जना शिक्षक कर्मचारी रहेका छन् ।
स्थानीयवासी बसाईँसराई गरेर अन्तै लागेपछि विद्यार्थी संख्या न्युन रहेको भट्टले बताए । प्रधानाध्यपक भट्टका अनुसार विद्यालयमा विद्यार्थी नभए पनि दिवाखाजा, छात्रवृत्ति लगायतको अन्य सुविधा उपलब्ध भइरहेको छ ।

यता यस विषयमा लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केवशराज ओझाले भने पञ्चदेव आधारभुत विद्यालयलाई मर्ज गर्ने तयारी भइरहेको बताए । ‘गाउँपालिकाको कार्यपालिका र कार्यदलको बैठक बसेर एकदेखि ३ कक्षामा पढ्ने विद्यार्थीको उमेर पनि कम हुने भएकाले पञ्चदेव आधारभुत विद्यालय बिन्खालीलाई मर्ज गर्नुपर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘यहाँबाट निजिक विद्यालय नभएको र त्यो विद्यालय मर्ज गरेपछि आधा घण्टा हिडेर अर्काे विद्यालय जानुपर्ने हुन्छ । सोही कारण मर्जको प्रक्रिया अगाडि बढेको छैन ।’
चालू शैक्षिक सत्रमा पनि विद्यालय समायोजनका विषयमा गाउँपालिकामा छलफल भएको शाखा प्रमुख ओझाले बताए । गएको शैक्षिक सत्रमा पनि पञ्चदेव आधारभुत विद्यालयमा विद्यार्थी संख्या ९ जना थियो ।विगतमा हचुवाको भरमा स्थापना गरिएका अधिकांश विद्यालयको अवस्था अहिले नाजुक छ । कतै जनशक्ति र संरचना हुँदा पनि विद्यार्थी छैनन्, भने कतै विद्यार्थी हुँदा पनि संरचना र जनशक्तिको अभाव झेल्नु परेको छ । यसमा स्थानीय सरकारलाई मुकदर्शक बन्ने छुट छैन ।