जीर्ण र चुहिने भवनमा रात बिताउदै गोकुलेश्वर प्रहरी
सुरक्षा दिने प्रहरी नै असुरक्षित, गोकुलेश्वरको अस्थायी प्रहरी पोष्ट जीर्ण
दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको अस्थायी प्रहरी पोष्टको भवन जीर्ण बनेको छ । नगरपालिका नजिकै रहेको गोकुलेश्वर अस्थायी प्रहरी पोष्टको भवन मर्मत सम्भारको अभावका कारण जीर्ण बन्दै गएको हो ।
१० जना प्रहरी र दुई जना ट्राफिकसहित १२ जना प्रहरी कार्मचारी बस्ने गोकुलेश्वर प्रहरी पोष्टको भवन सम्बन्धित निकायले बेवास्ता गर्दा पुनः निर्माण हुन सकेको छैन । जीर्ण बनेको भवन गोकुलेश्वर विमानस्थलको हो । उक्त भवनमा २०६८ सालदेखि प्रहरी बस्दै आएको छ ।

स्थानीय सरकरदेखि प्रदेश र संघीय सरकारसम्मलाई गुहार्दा पनि अस्थायी प्रहरी पोष्टको भवन निर्माण नभएको प्रहरी कर्मचारीले जनाएका छन् । नगरपालिका नजिकै रहेको प्रहरी पोष्टको अवस्थाको बारेमा स्थानीय सरकर मौन देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र केन्द्रीय तहका नेताहरु समेत जीर्ण भवनको सवालमा नजरअन्दाज गरिरहेका छन् ।
प्रहरी बस्ने भवन नै जीर्ण भएपछि पानी पर्दा, हावाहुरी चल्दा सास्ती खेप्नु परेको छ । प्रहरी कर्मचारीका अनुसार टिनको छानो चुहिने, सुत्ने कोठाको झ्याल नभएको र सुतेको बेला कतिखेर भत्किन्छ भन्ने डर छ । झ्याल ढोका नभएका कारण सुत्ने कोठामा सर्प समेत देखिने गरेका छन ।

अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीहरुलाई खान, बस्न निकै नै दुःख छ । जिल्लाका अन्य अस्थायी प्रहरी पोष्टको अवस्था समेत दयनिय छ । यसमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्न सकेका छैनन् । जसकारण नागरिकको सुरक्षामा खटिने प्रहरीले सास्ती खेप्नु परेको छ ।