काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ४ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको केही दिनमै ४ सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।
ऊर्जा विकास विभागका महानिर्देशक पनि फेरिएका छन् । गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हालेका जीवछ मण्डलको ६ महिना नपुग्दै जिम्मेवारी हेरफेर भएको छ । मन्त्री खड्काले विभागको महानिर्देशकको जिम्मेवारी नवीनराज सिंहलाई दिएका छन् ।
यसअघि दुई पटक विभागको महानिर्देशक भएका सिंहलाई मन्त्री खड्काले तेस्रो पटक जिम्मेवारी दिएका छन् । सिंहले पहिलो पटक २०७३ असोज १७ देखि २०७५ पुस १६ गतेसम्म २ वर्षभन्दा बढी समय विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जल तथा ऊर्जा आयोगमा सरुवा भएका उनी करिब २ वर्ष कोशी प्रदेशका सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
पछिल्लो समय उनी मन्त्रालयको नीति महाशाखाको जिम्मेवारीमा थिए । मन्त्रालयमा ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सिंहलाई ऊर्जा विकास विभागमा तेस्रो पटक महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयको ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा ऊर्जा आयोगका सहसचिव चिरञ्जीवी चटौतलाई ल्याइएको छ । जीवछ मण्डललाई आयोगमा पठाइएको छ । यस्तै मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।