काठमाडौं–पछिल्ला वर्षहरुमा अमेरिका र रूसबीच तनाव बढ्दै जाँदा नेपाली सेना समस्यामा परेको छ । अमेरिकाले रूसी कम्पनी र सामग्रीमाथि प्रतिबन्ध लगाउँदा नेपाली सेनाले रूससँग खरिद गरेको एमआई–१७ हेलिकोप्टर मर्मत गर्न समस्या परेको हो ।
नेपाली सेनासँग रूसबाट खरिद गरी ल्याएका चारवटा एमआई–१७ हेलिकोप्टर छन् । ती हेलिकोप्टरको निश्चित समय पुगेपछि मर्मत गर्नुपर्छ । तर मर्मतका लागि रूस पठाउन र रूसबाट सामान ल्याउन नमिलेपछि लामो समयदेखि दुई हेलिकोप्टर प्रयोगमा आउन सकेका छैनन् ।
“अमेरिकी प्रतिबन्धका कारण हेलिकोप्टर मर्मतका लागि आवश्यक पर्ने रकम डलरमा रूस पठाउन नमिल्ने भयो । सामान पनि ल्याउन नसकिने भयो,” रक्षा मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।
रूसबाट सामान ल्याएर हेलिकोप्टर मर्मत गर्ने बाटोहरु बन्द भएपछि केही साताअघि नेपाली सेनाले एमआई–१७ हेलिकोप्टर भारतमा मर्मत गर्न स्वीकृति प्रदान गर्न भन्दै रक्षा मन्त्रालयलाई पत्र लेखेको थियो ।
“सेनाले अनुरोध गरेको पत्रसहितको प्रस्ताव मन्त्रिपरिषद् बैठक लगियो र बैठकले भारतमा मर्मत गर्न स्वीकृति प्रदान गरेको छ,” रक्षा मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेपछि खुला प्रतिस्पर्धा गरी भारतको मुम्बईस्थित अमन एभिएसन् एण्ड एरोस्पेस सोलुसन्ससँग सेनाले आफ्नो एमआई–१७ हेलिकप्टर मर्मत गर्ने सहमति गरेको छ ।
“हामीले दुई वटा एमआई–१७ हेलिकोप्टर मर्मत गर्न भारतमा पठाएका छौं । दुईमध्ये एउटाको ममर्त कार्य सकिन लागेको जानकारी प्राप्त भएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बाह्रखरीसँग भने ।
नेपाल सरकारको स्वीकृतिमा प्रतिस्पर्धा गरी भारतमा हेलिकोप्टर मर्मत गर्न पठाएको उनले बताए ।
भारतको वायु सेनासँग २२० वटा एमआई–१७ हेलिकोप्टर छन् । रूससँग खरिद गरिएका ती हेलिकोप्टरको मर्मत कार्य भारतीय वायु सेनाले लामो सयमदेखि भारतभित्रै गर्दै आएको थियो ।
रूससँग भारतको राम्रो सम्बन्धका कारण मर्मत गर्न आवश्यक सामग्री भारतले रूसबाट सहजै ल्याइरहेको छ । अमेरिकाले पनि भारतलाई ‘रूसबाट सामग्री खरिद नगर’ भनी दबाब दिन सकेको छैन ।
यसैकारण नेपाली सेनाले पनि भारतमै आफ्ना एमआई–१७ हेलिकोप्टर मर्मत गर्ने निर्णय गरेको हो ।
रूसबाट खरिद गरेका दुईवटा एमआई–१७ हेलिकोप्टर २०७२ जेठ २६ गते नेपाली सेनाले प्राप्त गरेको थियो । रूसको रोसोबोरोनेक्सपोर्टसँग हेलिकोप्टर खरिद गरिएको थियो । त्यतिबेला ती हेलिकोप्टरको पैसा रूस पठाउन निकै गाह्रो भएको थियो ।
रूसको सरकारी स्वामित्वमा रहेको हेलिकोप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एकमात्र कम्पनी रोसोवोरोनेक्सपोर्टसँग २०७० पुस ४ गते २ वटा एमआई–१७ भि–५ हेलिकोप्टर खरिद गर्ने सम्झौता भएको थियो ।
अमेरिकाले सन् २०१५ देखि रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाउँदै आएको छ । हातहतियार बेचबिखनसम्बन्धी सन्धिको उल्लंघन गरेको भन्दै अमेरिकाले रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकाले उक्त प्रतिबन्धलाई पछि बढाउने निर्णय गरेको थियो ।
यही प्रतिबन्धका कारण यसअघि रुसबाट हेलिकोप्टर खरिद गर्दा रोसोबोरोनेक्सपोर्टलाई पैसा पठाउन हम्मेहम्मे परेको थियो । ९० प्रतिशत नेपाल राष्ट्र बैंकमार्फत पठाइएको थियो, बाँकी १० प्रतिशत रकम पठाउन कठिनाई आएपछि जर्मनीको बैंकमार्फत पठाइएको थियो । रोसोबोरोनेक्सपोर्टले नै जर्मनी र फ्रान्सको बैंकमार्फत भुक्तानी गर्न नेपाली सेनालाई सुझाएको थियो ।
जुन वर्ष अमेरिकाले रुसी रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाएको थियो, त्यही वर्ष अर्थात् २०१५ मा अमेरिकाले नेपाली सेनलाई चारवटा स्काई ट्रक (जहाज) उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । नेपाली सेनाका प्रवक्ता केसीका अनुसार, हाल सेनासँग १८ वटा जहाज तथा हेलिकोप्टर छन् ।
तीमध्ये ८ वटा मात्र चालु अवस्थामा छन् । बाँकी १० वटा जहाज तथा हेलिकप्टर ग्राउन्डेड छन् । ग्राउन्डेडमध्ये ५ वटा साधारण मर्मतसम्हार गरे हुने खालका छन् । बाँकी पाँचवटाको भने सामान्य मर्मत सम्हारले नहुने खालका छन् ।
यसैबीच गतसाता नेपाल भ्रमणमा आएका अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा ती जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यका लागि अनुदान सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराउने बताएका थिए । ‘फरेन मिलिटरी फाइनान्स’ अन्तर्गत १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ३८ करोड रुपैयाँ) बराबरको जहाज तथा हेलिकोप्टर नेपाललाई अमेरिकाले उपलब्ध गराउन लागेको हो ।
माओवादी सशस्त्र संघर्ष चर्किएपछि सन् २००२ मा माओवादी दबाउन अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक दिने प्रतिबद्धता जनाएको थियो । सन् २००२ मा गरेको प्रतिवद्धता पूरा नगर्दै अमेरिकाले सन् २०१५ मा नेपालाई थप दुईवटा स्काई ट्रक उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।
सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि अमेरिकाले पहिले गरेको प्रतिवद्धतामा दुई जहाज थप गरी चारवटा स्काई ट्रक नेपाली सेनालाई उपलब्ध गर्ने प्रतिवद्धता जनाएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि विपद् प्रतिकार्यका लागि भन्दै स्काई ट्रक दिने प्रतिवद्धता अमेरिकाले गरेको थियो ।
सन् २०१९ को जनवरीमा अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका तत्कालीन कमाण्डर एड्मीरल फिलिप एस। डेभिड्सनले नेपाल भ्रमण गरेका थिए । त्यही बेला नेपालले १७ वर्ष पुरानो प्रतिवद्धता सम्झाएको थियो । त्यसपछि उनले प्रक्रिया अघि बढाउन मद्दत गरेका थिए ।
प्रक्रिया अघि बढेपछि सन् २०१९ मा अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक उपलब्ध गरेको थियो । अमेरिकाले सन् २००२/२०१५ मा प्रतिवद्धता गरेका चारवटा स्काई ट्रकमध्ये नेपाली सेनाले हालसम्म दुईवटा मात्र प्राप्त गरेको छ । दुईवटा प्राप्त गरेको छैन ।
प्राप्त हुन बाँकी दुईवटा स्काई ट्रक र थप दुईवटा वेल हेलिकोप्टर दिने निर्णय अमेरिकाले गरेको गत साता नेपाल भ्रमणमा रहेका बेला अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री वर्माले जानकारी गराएका हुन् ।