इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

काठमाडौं– इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ ।

हातमा इजरायली झण्डा बोकेर तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए। प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको उनीहरूको आरोप छ। गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको थियो ।

आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको थियो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध पारेका थिए। आन्दोलनकारीले टायर पनि जलाए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा छवटा शव फेला पारेको बताएको थियो। शनिबार आइडीएफ उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारिएको उनीहरूको भनाई छ।

Leave A Reply

Your email address will not be published.