नेपालभन्दा भारत निकै बलियो हो तर इतिहास नहेरि भविष्यका लागि खेल्छौँ :अलमुताइरी

दार्चुला – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ ।

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज बुधवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले नेपालभन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरि भविष्यका लागि खेल्ने बताउनुभयो ।

उहाँले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिनुभयो । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

नेपालले अहिलेसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतबीचका चार खेल बराबरीमा सकिएको इतिहास छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भोलि बिहीवार नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका साढे पाँच बजे सुरु हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनशिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

प्रशिक्षक अलमुताइरीले आफनो टोलीको मुख्य लक्ष्य पनि साफ च्याम्पियनशिप नै भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.