काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको बताए ।
उनले भने, ‘उहाँ आफैंले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न हुँदैन । कुनै पनि प्रकरणमा कानूनको उलंघन गरे दोषीले उन्मुक्ति पाउन हुँदैन ।’
निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषि देखिए कारबाही समेत गर्नुपर्ने बताए ।