नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आपसमा भिड्दैछन् ।
चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे शुरू हुनेछ ।
जारी सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो चौथो र चितवन राइनोजले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् ।
अघिल्ला दुई सिजनको उप–विजेता रहेको सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणमा भने सोचेजस्तो प्रदर्शन गर्न सकिरहेको छैन ।
सुदूरपश्चिम आफूले खेलेको तीनमध्ये केवल एक खेलमा जित हात पारेको छ भने दुई खेलमा नमिठो पराजय भोगेको छ ।
सुदूरपश्चिम आफ्नो पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।
वर्षाका कारण प्रभावित भए पनि निकै चर्चा बटुलेको तेस्रो खेलमा सुदूरपश्चिमको टोली विराटनगर किङ्ससँग ३५ रनले स्तब्ध: बनेको थियो ।
वर्षाका कारण निर्धारित समयभन्दा निकै ढिलो टस गरेर पाँच/पाँच ओभरमा खेलिइएको उक्त खेलमा विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले भने निर्धारित ओभरमा तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सकेको थियो ।
यद्यपि, निरन्तरको वर्षाका कारण सामान्य अवस्थामा नरहेको कीर्तिपुर मैदानमा खेलाडी घाइते हुनसक्ने जोखिमका कारण सुदूरपश्चिमले उक्त खेल खेल्न लामै समय आनाकानी गरेको थियो ।
अर्कोतिर, चितवन राइनोजले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । दुई खेल खेलेको चितवन हालसम्म अपराजित छ ।
चितवनले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई आठ रनले हराएको थियो । चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
जारी प्रतियोगितामा सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन खेलमा एक अर्धशतकको मद्दतले सर्वाधिक ७९ रन बनाएका छन् ।
चितवन राइनोजका लागि भने डेविड मलानले एक खेलमा एक अर्धशतकको मद्दतले सर्वाधिक ७० रन बनाएका छन् ।
यसैगरी, सुदूरपश्चिम रोयल्सका लागि पाँच विकेट लिइसकेका छन् । चितवन राइनोजका लागि भने कमलसिंह ऐरीले कुल चार विकेट हात पारेका छन् ।
एनपीएलको इतिहासमा हालसम्म यी दुई टोलीबीच कुल दुई खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा चितवन र एक खेलमा सुदूरपश्चिम विजयी भएका छन् ।
सन् २०२४ मा आयोजित पहिलो संस्करणको लिग चरणमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
यसैगरी, सन् २०२५ मा आयोजित दोस्रो संस्करणको लिग चरणमा सुदूरपश्चिमले अघिल्लो हारको बदला लिँदै चितवनलाई ४९ रनले पराजित गरेको थियो ।
तेस्रो संस्करणको अंक तालिकामा तीन अंकसहित चितवन राइनोज चौथो र दुई अंकसहित सुदूरपश्चिम रोयल्स छैटौँ स्थानमा आसीन छन् ।
