काठमाडौं– अमेरिकामा एक अर्का नेपालीको मृत्यु भएको छ। पूर्व रुकुमको भुमे ७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हो।
उनी ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ वर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका गएको नेपयोर्कले जनाएको छ।
रोकामगर हालैमात्र बोस्टनमा बसाई सरेर काम गर्न थालेको जनाइएको छ। हृदयघातपछि तीनदिन अगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो।
यस्तै उता अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन्। आइतबार राति सिड्नीको सेन्ट्रलस्थित एक पार्कमा झापाको मेचीनगर नगरपालिका(४ धाइजनकी २७ वर्षीया दिक्षा सिवाकोटी मृत भेटिएकी हुन्। उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ।
विवाह गरेको करिब चार महिनाअघि उनी अस्ट्रेलिया पुगेको बताइएको छ। त्यहाँ पुगेर काम गर्न सुरु गरेकी उनी सेप्टेम्बर ८ मा कामबाट निस्केपछि बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शव पार्कमा झुण्डिएको अवस्थामा फेला परेको अस्ट्रेलियास्थित सञ्चारमाध्यमले जनाएका छन्।
उनका माइती पक्षले दिक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्विकार गरेको छैन। उनहरूले आत्महत्या दुरूत्साहनमा पतीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
माइती पक्षले अस्ट्रेलियाको पिआर पाएका श्रीमानले उनलाई अस्ट्रेलिया गलत बाटोबाट लगेर गएको बताएका छन् । त्यस्तै उनका श्रीमानले आफ्नो पहिलेको बिहेको बारेमा ढाँटेको समेत पाइएको परिवारले बताएको छ ।
उनको परिवारले यस घटनाको सत्य तथ्य र निष्पक्ष अनुसन्धानका लागि अनुरोध गरेको छ । साथै अन्तिम संस्कारका लागि दिक्षाको शव नेपाल पठाइदिन नेपाली समुदायसँग उनीहरूले आग्रह गरेका छन् ।