Suvakamana

दार्चुलाको हुस्कर मावि काँटैमा गरे विद्यार्थीले तालाबन्दी

विद्यालयमा घुस्यो राजनीति, विद्यार्थीको भविष्यमाथि खेलवाड किन ?

Lekam

दार्चुला– दार्चुलाको महाकाली नगरपालिका–३ मा रहेको हुस्कर माध्यमिक विद्यालय काँटैमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । शुक्रबार हुस्कर माध्यमिक विद्यालयमा शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले विरोध जनाउँदै तालाबन्दी गरेका हुन् ।

विज्ञान पढाउने शिक्षक धन सिंह महरालाई महाकाली नगरपलिकाले सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले नाराबाजी गर्दै विद्यालयमा तालाबन्दी गरेको हुस्कर माध्यमिक विद्यालका प्रधानाध्यापक महेश भट्टले मालिकार्जुन खबरलाई जानकारी दिए ।

Division

कक्षा १० सम्म अध्यापन गराउने विज्ञान विषयमा शिक्षक महराको सोही नगरपालिका–२ मा रहेको दुर्गा लटिनाथ माध्यमिक विद्यालय मैखोलीमा सरुवा गर्न लागिएको भन्दै विद्यार्थीहरुले सरुवा रोक्का गर्नका लागि तालाबन्दी गरेको बताइएको छ । ‘एक जना विज्ञान पढाउने शिक्षकको सरुवाको तयारी भइरहेको चर्चा छ । अहिलेसम्म विद्यालयलाई कुनै औपचारिक पत्र आएको छैन,’ प्रधानाध्यापक भट्टले भने, ‘विद्यार्थीहरुले शिक्षकको सरुवा गर्न नहुने माग राखेर तालाबन्दी गरेका हुन् ।’ राजनीतिक चलखेलका कारण शिक्षकको सरुवा हुन लागेको आरोप विद्यार्थीहरुको छ ।

बिहिबार मात्रै सोही नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरुले अंग्रेजी अध्यापन गराउने शिक्षक चाहिएको भन्दै विद्यालयमा तालाबन्दी गरेका थिए । उक्त विद्यालयमा पनि राजनीतिक स्वार्थ पूरा नहुँदा पाँच महिनासम्म अंग्रेजी शिक्षकलाई भर्ना गर्न सकिएको छैन । जसका कारण विद्यार्थीको पढाई प्रभावित भएको छ ।

यी दुई घटनाले विद्यालयमा राजनीतिक चलखेल हावी भएको प्रष्ट देखिन्छ । आफ्नो स्वार्थ पूरा गर्नका लागि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने छुट कसैलाई छैन ।

Leave A Reply

Your email address will not be published.