अर्बभन्दा बढी बचत भएको सहकारीमा सचिव र कोषाध्यक्ष बसेका दीपेश भन्छन्- थाहै नदिई राखियो

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले अर्बभन्दा बढी बचत भएको सुप्रिम बचत तथा ऋण सहकारी लिमिटेड बुटवलको सचिव पदमा आफूलाई जानकारीबिना राखिएको दाबी गरेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको बयानमा उक्त सहकारी ठगीमा गितेन्द्र बाबु (जीबी) राईको भूमिका रहेको उल्लेख गर्दै आफूलाई झुक्याएर सचिव बनाएको उनले बयान दिएका छन् ।

‘संस्थामा मेरो जानकारीबिना मलाई सञ्चालक समितिको सचिव पदमा राखिएको थियो । मेरो जानकारीमा आउनासाथ उक्त संस्थामा कानुनी र आर्थिक दायित्व नहुने गरी मैले राजीनामा दिएको थिएँ,’ उनको दाबी छ, ‘उक्त राजीनामा साधारणसभाले अनुमोदन गरी सहकारी विभागमा जानकारीसमेत दिइसकेको र नयाँ सञ्चालकले दायित्व लिइसकेको अवस्थामा संस्था समस्या पर्नुमा मेरो कुनै भूमिका छैन ।’

उनले जीबी राईसँग हिमचिम भएको स्वीकार गर्दै सँगै हेलिकोप्टर सवार गरेको बताएका छन् ।

‘गितेन्द्रबाबु राईसँग आदिवासी जनजातिसम्बन्धी कार्यक्रममा भेट भएको थियो । निज र निज परिवार र निजको कम्पनी कुनैमा पनि मेरो व्यावसायिक साझेदारी र संलग्नता छैन । पारिवारिक सम्बन्ध रहेको भन्ने विषय सत्य होइन,’ उनको दाबी छ, ‘म राजनीतिक मान्छे पोखराको महेन्द्र भोटे, शिवबहादुर गुरुङ पनि राजनीतिक मान्छे, म विद्यार्थी र उहाँ युवाको जिम्मेवारीमा थियौ । त्यहाँ जाने क्रममा गितेन्द्रबाबु राई र शिवबहादुर गुरुङसँग भेट भएको थियो र एकपटक हेलिकोप्टरमा पोखराबाट काठमाडौं सँगै आएका पनि थियौं ।’

संसदीय समितिले रवि लामिछानेको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा मिति २०७७।१२।१८ मा २ करोड रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो के हो रु’ भन्ने प्रश्नमा उनले ‘यस विषयमा मैले समाचारहरूमा सुनेको थिएँ तर के–कसरी भएको हो मलाई जानकारी छैन,’ उनले भनेका छन् ।

उनले जीबी राई र कार्यकारी निर्देशक सागर केसीलाई सम्बन्धित निकायमा उपस्थित गराएमा संस्थाको यथार्थ स्थिति थाहा हुने जवाफ दिँदै आफू संलग्न नभएको दाबी गरेका छन् ।

सुप्रिम सहकारीको रकम हिनामिना गरेको अभियोगमा दीपेश पक्राउ परी धरौटीमा रिहा भइसकेका छन् ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सहकारीमा नियमित बचत गरेको सर्वसाधारणको रकम ठगी गरेको भन्दै १ हजार ८ सय ३१ जनालाई प्रहरीमा उजुरी गरेका थिए । सहकारीमा जीबी राई सहितको समूहले सर्वसाधरणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख, २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीमा १९ हजार ३ सय ९१ सदस्य थिए ।

प्रतिवेदनका अनुसार २०७२ बाट भने गीतेन्द्रबाबु (जीबी) राईको समूह प्रवेश भएसँगै सहकारीको नाम पनि परिवर्तन भएर सुप्रिम बनेको हो । सहकारीका पूर्वपदाधिकारी तथा संरक्षक जीबी राई र दीपेशकुमार पुनले उक्त सहकारी चलाउने प्रस्ताव २०७२ मा गरेका थिए । सोहीअनुसार २०७२ मा साधारणसभा गरी सहकारीको अध्यक्षमा जीबी राई चयन भए । ओमप्रकाश गुरुङ उपाध्यक्ष हुँदा जीबी राई समूहका राजु बराल सचिव, दीपेशकुमार पुन कोषाध्यक्ष बने । यस्तै जीबीका दाइ देवेन्द्रबाबु राई, सुरज श्रेष्ठ, भूपेन्द्र राई सदस्य बने ।

नयाँ सञ्चालक समितिसँगै सहकारीको नाम पनि मैत्रेयबाट परिवर्तन भई सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनेको हो ।

Leave A Reply

Your email address will not be published.