स्थानीय तह उपनिर्वाचनमा सहभागी हुन आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता गरिसक्नुपर्ने

काठमाडौं–निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता आव्हान गरेको छ ।

आयोगले एक सूचना नै जारी गर्दै उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० अर्थात बिहीबारदेखि असोज १६ सम्म दल दर्ता गर्न सक्नेछन् ।

मंसिर १६ मा तय भएको स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम बिहीबारदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र दल दर्ता गर्न आव्हान गरिएको आयोका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिए ।

उनका अनुसार राजनीतिक दलले निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा आयोगको कार्यालयमा निवेदन दिनसक्ने छन् ।

स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि सरकारले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्दैछ । जसमा जिल्ला समन्वय समितिका प्रमुख २, नगरपालिकाको प्रमुख र गाउपालिका अध्यक्ष ३, नगरपालिकाको उपमुख तथा गाउँपालिका उपाध्यक्ष ५, वडा अध्यक्ष ३१ गरेर स्थानीय तहमा ४१ पदमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार पछिल्लो समयसम्म आयोगमा ११९ वटा राजनीतिक दलको दर्ता कायम रहेको छ । दर्ता भएका १९ राजनीतिक दलले मात्रै स्थानीय तहको उपनिर्वाचनमा भाग लिन पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.