दार्चुला–दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा चाड पर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ । चाडपर्वमा कालोबजारी र अखाद्य वस्तुको व्यापार हुने कुरालाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको हो ।
शुक्रबार नगरपालिकाको बजार क्षेत्रका पसलहरुमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिए।
अनुगमनका क्रममा गोकुलेश्वर बजार क्षेत्रका १८ पसलहरुबाट म्याद नाघेका ५४ हजार ६२ रुपैयाँ मूल्य बराबरका अखाद्य ,सुर्तीजन्य र कस्मेटिक सामान बरामद गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका कार्यालय प्रमुख गंगा कुमारी मगरले बताए ।
उपभोक्ता संरक्षण ऐन, २०७५ का मापदण्ड पालन गरी व्यवसाय तथा कारोबार गर्न अनुरोध गरिएको छ । यस्तै बजार अनुगमन जुनसुकै बेला पनि हुन सक्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय दार्चुला ,शैल्यशिखर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, ईलाका प्रहरी कार्यालय गोकुलेस्वर लगायतको उपस्थिति रहेको थियो ।