काठमाडौँ — नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग गरेको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइतबार उक्त चेक हस्तान्तरण गरेका हुन् । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।
चेक हस्तान्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका थिए । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरेका थिए ।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी छ ।