रवि लामिछानेका विषयमा आयोगले प्रहरी उच्च अधिकारीसँग लियो जानकारी

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले रास्वपाका सभापति रवि लामिछानेका विषयमा प्रहरी उच्च अधिकारीसँग जानकारी लिएको छ । सोमबार आयोगले एआईजी टेकबहादुर तामाङसहितका प्रहरी उच्च अधिकारीहरूसँग जानकारी लिएको हो ।

प्रहरी हिरासतमा रहेका लामिछानेमाथि अमानवीय व्यवहार गरी मानवअधिकार हनन् गरेको भन्दै रास्वपाका तर्फबाट आयोगमा उजुरी दिइएको थियो । गएको बुधबार चितवनबाट उनलाई रातारात पोखरा पुर्‍याएर प्रहरीले मानवअधिकार उल्लंघन गरेको आरोप लगाइएको छ ।

“सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले उहाँमाथि अमानवीय व्यवहार गरी मानवअधिकार हनन् गरिएकोले छानबिन गरी मानवअधिकार संरक्षण गरी पाऊँ भन्ने समेत व्यहोराको आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको छ,” आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसक्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानवअधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरिनुपर्नेमा आफूहरूको चासो रहेको बताए ।

यस विषयमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक (आईजीपी)सँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई जारी राखेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.