दार्चुला – पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार थप १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। चौविस घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५५ जनाको नमूना परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात, कैलालीका दुई र अछामका एक जनामा सङ्क्रमण देखिएको हो।
सात जनामा पीसीआर र दश जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।
यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन्, भने यो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन। यसअघि यस प्रदेशमा विहीबार २९ जनामा सङ्क्रमण पुष्टि हुँदा १२ जना घर फर्किएका छन ।