बालेनलाई समेत समेट्ने चाहना व्यक्त गर्दै भीम रावलले भने- मलाई राजावादी भन्न मिल्दैन

काठमाडौं– नेकपा एमालेबाट बहिर्गमनमा परेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा। भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् । उनले यो अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा समेत सार्वजनिक गरे ।

शुक्रबार बिहान नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग हवाईजहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी विमानस्थलमा ओर्लिएका रावलले पत्रकारहरुको भेटमा सो धारणा सार्वजनिक गरेका हुन् ।

पूर्वगृहमन्त्री समेत रहेका रावललाई पत्रकारहरुले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । सो जिज्ञासामा रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ ।’ रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए ।

रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाए थिए । त्यही क्रममा एमाले नेता रावलल विशिष्ट कक्षबाट सुटुक्क बाहिरिएका थिए । रावल भने पत्रकार भेटघाटपछि गृहजिल्ला अछामको रामारोशनतर्फ प्रस्थान गरे ।

पत्रकारहरुले रावललाई राजावादीहरुसँगको भेटघाटबारे जिज्ञासा राखेका थिए । उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै त्यही क्रममा विभिन्न व्यक्तिहरुसँग भेटेको र त्यो स्वाभाविक भएको बताए । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएको उनले जानकारी गराए ।

उनी हालै विराटनगर गएका बेला राजावादीहरुले स्वागत गरेका थिए । त्यतिबेला इटहरीमा राजावादीहरुसँगको भेटमा उनले दोस्रो जनआन्दोलनको उद्देश्य राजा फालेर गणतन्त्र ल्याउने नभए पनि घुसपैठ भएको जिकिर गरेका थिए । राजावादीलाई भेट्दैमा आफूलाई पनि राजावादी भन्न नमिल्ने रावलले बताए ।

रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । ‘देश र जनताका लागि जोजो छन्, इमान्दार देशभक्तहरु हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।

प्रधानमन्त्रीसहित राजनीतिक नियुक्तिमा भागबण्डा गरेर खाने गरेको भन्दै उनले त्यसलाई रोक्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताए । ‘प्रधानमन्त्री बन्यो भागबण्डा गरेर खाने, विश्वविद्यालयमा भागबण्डा गरेर खाने । अँस्तीभर्खर भूमिसम्बन्धी आयोग गठन भयो हेर्नुस् त भागबण्डा,’ रावलले भने, ‘भागबण्डाभित्र पनि गुटबन्दी छ फेरि । अनि के यो राज्य भनेको व्यक्तिगत हो कसैको रु त्यसकारण यस्तो कुरालाई रोक्नुपर्छ ।’

एमालेबाट निस्कासनमा परेपछि १७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।

उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’को नामबाट देशदौडाहामा ‍छन् । यो अभियानले राष्ट्रिय रुप लिएपछि पार्टीको स्वरुप दिने उनले बताए ।

पार्टीको संगठनात्मक स्वरुपबारे सोधिएको प्रश्नमा रावलले भने, ‘देशको अहिलेको अवस्था परिवर्तनका लागि अरु धेरै मानिसहरुले हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यतिबेला त्यसलाई अझ परिमार्जित गरेर जे जस्तो आवश्यक हुन्छ, त्यो रुपमा ल्याउन तयार छौं ।’ अहिले नै पार्टी घोषणाको चरणमा नपुगेको उनले बताए ।

आफूले सुरु गरेको अभियानले कालान्तरमा ठूलो रुप लिने विश्वास व्यक्त गर्दै रावलले भने, ‘हिमालमा हिउँको डल्लो गुडिरहेको बेला सानो देखिन्छ । पछि त्यसले हिम आँधीको रुप लिन्छ ।’

Leave A Reply

Your email address will not be published.