पूर्व मुख्यमन्त्री रावलमाथि दुर्व्यवहार भएको दाबी

काठमाडौं– सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि दुर्व्यवहार भएको दाबी गरिएको छ।

धनगढी आउँदै गर्दा आज (शनिबार) कञ्चनपुरको दैजी चोकमा सरकारी सवारी दुरुपयोग भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले रावल चढेको गाडी रोकेका थिए। सो क्रममा रावलमाथि प्रहरीकै सामुन्ने दुर्व्यवहार भएको बताइएको छ।

रावलका पीए राजबहादुर चन्दले बिज्ञप्ति निकालेर रास्वपा कार्यकर्ताले गाडी रोकेर चालकलाई गालीगलौज, हातपातको प्रयास र गाडी तोडफोड गर्न खोजेको जानकारी दिए। यस्तै उनले उक्त घटनाको घोर निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरे।

घटनाका क्रममा सुरक्षाको जिम्मेवारीमा रहेको नेपाल प्रहरी मूकदर्शक बनेको आरोप लगाइएको छ। एमालेले यसप्रति आपत्ति जनाउँदै प्रहरी प्रशासनको भूमिका शंकास्पद भएको जनाएको छ।

साथै, विदाको दिन प्रदेश सभा सचिवालयबाट अनुमति लिएर सरकारी काममा हिँडिरहेको अवस्थामा यस्तो दुर्व्यवहार हुनु निन्दनीय रहेको जनाइएको छ। तर शनिबार सरकारी गाडीको सवालमा जिल्ला प्रशासनबाट पास लिनुपर्ने प्रावधान छ।

Leave A Reply

Your email address will not be published.