दार्चुला- लेकम गाउँपालिका वडा नं. १ मा अवस्थित बडिपुर माध्यमिक विद्यालय सर्मोलीको ६६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
सोमबार विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य अमर कार्कीको अध्यक्षतामा उद्घाटन भएको यस समारोहको दोस्रो दिन मंगलबार विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरिएको हो।
वार्षिकोत्सवको अवसरमा अन्तरविद्यालय सांस्कृतिक प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। जसमा हुनैनाथ आधारभूत विद्यालय, डोविगाउँले प्रथम स्थान हासिल गर्दा केदानाथ आधारभूत विद्यालय, बिथ्ड द्वितीय र बडिपुर माध्यमिक विद्यालय, सर्मोली तृतीय भए। नृत्य प्रतियोगितामा भने मालिकाजुर्न आधारभूत विद्यालय, बन्डोलीले प्रथम स्थान प्राप्त गर्यो। यसैगरी, अन्तरविद्यालय लक्की सर्कल प्रतियोगितालगायत विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परमानन्द विष्टले वार्षिक आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार विद्यालयको कुल आय १ करोड १२ लाख २२ हजार ७ सय ४० रुपैयाँ रहेकोमा कुल व्यय १ करोड २ लाख ९५ हजार ३ सय ६३ रुपैयाँ रहेको छ। विद्यालयसँग हाल ९ लाख २७ हजार ३ सय ७७ रुपैयाँ बचत रहेको प्रधानाध्यापक विष्टले बताए ।
वार्षिकोत्सवमा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो।