दार्चुलामा ७५औँ प्रजातन्त्र दिवस मनाइयो

दार्चुला । दार्चुलामा ७५ औँ प्रजातन्त्र दिवस मनाइएको छ । बुधबार आज जिल्ला सदरमुकाम लगायत जिल्लाका विभिन्न ठाउँमा राष्ट्रिय प्रजातन्त्र दिवस भब्यताका साथ मनाइएको हो । जिल्लामा यस वर्ष प्रजातन्त्र दिवस तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

बुधबार प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारेर जिल्लाभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला सदरमुकाम खलंगा स्थित खुलामञ्चमा महाकाली नगरपालिकाको आयोजना तथा जिल्ला समन्वय समिति दार्चुलाको संयोजकत्वमा ७५ औँ प्रजातन्त्र दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।जिल्ला समन्वय समिति प्रमुख महादेव बडु(कश्वव)को अध्यक्षतामा तथा महाकाली नगरपालिका उप–प्रमुख दुर्गा कुमारी खत्री बिष्ट,प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको उपस्थितिमा कार्यक्रम सम्प्पन्न भएको छ ।

जिल्ला सदरमुकामको खुल्लामन्चबाट नारा लेखिएका प्ले कार्ड, सहित र्याली निकालेर राधाकृष्णचोक, हुदै प्रेम सिह धामी सालिक पुगेर पुन खुल्लामन्चमा आएर कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रजातन्त्र प्राप्तीका लागि आफ्नो प्राणको आहुति दिने चार जना सहिदको फोटोको माल्यार्पण गरिएको छ ।

त्यस्तै जिल्लाको शैल्यशिखर नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरि दिवस मनाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो । नगरपालिकाको आयोजनामा विहान बाँजागाजा सहित गोकुलेश्वर बजार परिक्रमा गरि दिवस मनाइएको उहाँले बताउनुभयो । कार्यक्रममा नगर उप प्रमुख शान्ती खडायत, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्ट लगायतको सहभागितामा दिवस मनाइएको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लाको मलिकार्जुन गाउँपालिकाले पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शव इन्जिनियर सुमेरु बिक्रम धामीले जानकारी दिनुभयो । गाउँपालिकाको आयोजनामा मनाइएको कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरुबिच विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको तथा गाउँपालिका भित्र रहेका विभिन्न मन्दिरहरुमा सरसफाइ गरिएको उहाँले बताउनुभयो ।

दार्चुलामा यो दिवसको अवसरमा फागुन ६, ७ र ८ गते सबै सरकारी कार्यालय, प्रतिष्ठान तथा संघ संस्थाका कार्यलयमा राष्ट्रिय झण्डा राख्ने, साँझ सवै कार्यालय, जिल्लावासीको घरमा दिपावली गरिएको छ । यस्तै जिल्ला स्थित सामुदायिक विद्यालयहरुमा समेत यो दिवस मनाइएको छ ।

२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.