दार्चुला। दार्चुला जिल्ला अस्पतालमा अहिले भाइरल ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तन संगै अस्पतालमा भाइरल ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ । भाइरल ज्वरो र श्वासप्रश्वासका विरामी उपचारका लागि अस्पतालसम्म पुग्न थालेपछि अहिले अस्पतालमा बिरामीको चाप समेत बढेको जिल्ला अस्पताल दार्चुलाका निमित्त कार्यालय प्रमुख डाक्टर सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो । चिसोयाम सकिएर गर्मीयाम सुरु हुनैलाग्दा अस्पतालमा भाइरल ज्वरो र श्वासप्रश्वासका बिरामी बढेको उहाँले बताउनु भयो ।
अस्पतालको ओपिडी कक्षमा उपचारका लागि अहिले झण्डै डेढसयको हाराहारीमा विरामी पुग्ने गरेको तथा इमरजेन्सी कक्षमा २० जनाको हाराहारीमा विरामी उपचारका लागि पुग्ने गरेको निमित्त कार्यालय प्रमुख डाक्टर श्रेष्ठले बताउनु भयो । उपचारमा आउने बिरामीमा बालबालिका लगायत बृद्धबृद्धाहरु समेत पुग्ने गरेको बताइएको छ । गाउँमा भाइरल ज्वरो र श्वासप्रश्वासका बिरामी बढेपछि अस्पतालमा पनि बिरामीको सङ्ख्या वृद्धि भएको चिकित्सकहरुले बताएका छन ।
दूषित पानी, बासी खानेकुरा तथा सरसफाइको कमीले भाइरल ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्ने भएकाले ताजा, तातो र पोषिलो तथा झोलिलो खाना खाने, आराम गर्ने, उमालेर पानी पिउने, सरसफाइमा ध्यान दिनेलगायतका कार्य गरेमा केहीहदसम्म बिरामीलाई राहात पुग्ने डाक्टरहरुले बताएका छन । श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोपबाट प्रभावित बिरामीलाई तत्काल उपचार सेवामा सहजीकरण गर्दै औषधि उपलब्ध गराउनुका साथै आवश्यक परामर्श सेवा प्रदान गर्न लागिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।