होलीलाई लक्षित गरि दार्चुलामा चेकजाँचमा कडाई,

शान्त र मर्यादित रुपमा होली खेल्न प्रहरीको आग्रह

दार्चुला । रंगहरुको पर्व होलीलाई लक्षित गरि दार्चुलामा प्रहरीले जेकजाँचमा कडाई गरेको छ । सामाजिक एवम् धार्मिक सद्भाव विग्रिन नदिन जिल्ला प्रहरी कार्यालय दार्चुलाले पहिलेको भन्दा अहिले चेकजाँचमा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका विभिन्न ग्रामीण क्षेत्रमा आजबाट विधिवत रुपमा होली पर्व सुरु भएको छ ।

फाटफुट रुपमा आज सोमबार होली मनाए पनि भोली देखि विशेष रुपमा होली पर्व सुरु हुने भएको छ । होली मनाउने ठाउँको पहिचान गरि सुरक्षा ब्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । अप्रिय घटना हुन नदिन तथा सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्न ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको उहाँले बताउनु भयो ।

होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले पनि सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । होलीलाई व्यवस्थित बनाउन र सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । इच्छा बिपरित जवर्जस्ती रङ नदल्न, रङ नछ्याप्न र लोला नहान्न पनि सचेत गराइएको छ ।

मादक पदार्थ सेवन गरि सवारी नचलाउन, सवारी साधनमा क्षमता भन्दा बढी नबस्न र अनियन्त्रित हुने गरि तिब्र गतिमा सवारी साधन नचलाउन पनि प्रहरीले गाडी चालक र यात्रुहरुलाई सचेत गराएको छ । मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसमा पनि मातहतका प्रहरी युनिटहरुलाई सचेत गराईएको छ ।

सभ्य र मर्यादित ढंगले सुरक्षित रुपमा घर परिवार,साथीभाईमै होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय दार्चुलाले आग्रह गरेको छ । कहीँकतै अमानविय गतिविधि भएमा १ सय नम्बरमा सम्पर्क गरी प्रहरीलाई सुचना दिन पनि जिल्लाबासीहरुमा अपिल गरिएको छ ।दार्चुला लगायत सुदुरपश्चिमका जिल्लामा चैत्र २९ गते फागुपुर्णिमा परेको छ । सोही दिन पहाडी तथा हिमाली जिल्लामा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.