कर्णाली र सुदूरपश्चिममा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । तराईका केही ठाउँमा हावाहुरीको चेतावनी दिइएको छ ।
काठमाडौं–आज पनि देशका विभिन्न ठाउँको मौसम बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएको छ ।लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार अहिले कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ ।
साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । यसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।