बालुवाटारमा प्रधानमन्त्रीले गरे चारै सुरक्षा निकायका प्रमुखसँग छलफल
सुरक्षा निकायका प्रमुखहरूले राजावादी समूहका प्रदर्शनकारीले प्रहरीलाई समेत उक्साउने किसिमले गतिविधि गरेको ब्रिफिङ गरेको एक अधिकारीले बताए
काठमाडौं– शुक्रबार राति मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।
राजावादी समूहको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सिर्जित भएका घटनाक्रमबारे उनले सुरक्षा अधिकारीहरुसँग ब्रिफिङ लिएका हुन् ।
छलफलमा गृहमन्त्री रमेश लेखकसँगै प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
त्यसक्रममा उनीहरुले राजावादी समूहका प्रदर्शनकारीले प्रहरीलाई समेत उक्साउने किसिमले गतिविधि गरेको ब्रिफिङ गरेको एक अधिकारीले बताए ।
सुरक्षा अधिकृतहरुले मृतक दुई जनामध्ये एक जनाको गोली लागेर ज्यान गएको र एभिन्यूज टेलिभिजनका पत्रकारको राजावादीले निरन्तर ढुंगा हान्दा ज्यान गएको प्रधानमन्त्रीलाई सुनाएका छन् । घटनामा २२ जना घाइते भएका छन् ।
प्रधानमन्त्रीलाई भएको ब्रिफिङ अनुसार, शुक्रबार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससँगै हवाई फायर समेत गरेको थियो ।