दार्चुला। दार्चुलाको महाकाली नगरपालिकाले आधारभूत तह कक्षा ८को परीक्षाफल प्रकाशित गरेको छ । चालु शैक्षिक सत्रमा सञ्चालन गरिएको नगरस्तरीय परीक्षाको परीक्षाफल प्रकाशन गरिएको महाकाली नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज जोशीले जानकारी दिए । नगरपालिकाले मंगलबार हिजो प्रकाशन गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये ६१।२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
महाकाली नगरपालिकाले चैत्र ३ गतेदेखि चैत १० गतेसम्म सञ्चालन गरेको परीक्षामा १८ विद्यालयका ५सय ८२ जना परीक्षार्थीहरुको सहभागिता रहेको थियो । परीक्षामा सहभागी भएकामध्ये ३ सय ५६जना विद्यार्थी उत्तीर्ण भएका छन् । ननग्रेडेड आएका विद्यार्थीमध्ये बढीमा दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराइने शिक्षा शाखा प्रमुख जोशीले बताए ।
ग्रेडबृद्धि परीक्षा अगामी बैशाख ५ र ६ गते जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना माविमा संञ्चालन हुने छन । आधारभूत तहको पढाईलाई व्यवस्थित बनाउन नगरपालिकाले नगरस्तरीय परीक्षा सञ्चालन गरेको जनाएको छ । नगरपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विबरण अनुसार नेपाली विषयमा ४४ जना विद्यार्थीको ननग्रेड आएको छ । यस्तै अंग्रेजीमा ३१ जना गणितमा १७८ जना विज्ञानमा १०९ जना सामाजिकमा २८ जना स्वास्थ्यमा ३१ जना तथा हाम्रो महाकालीमा १७ जनाको ननग्रेड आएको नगरपालिकाले जनाएको छ ।