सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, फाइनलमा एक परिवर्तन

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार साँझ लुम्बिनी लायन्स र सुदूरपश्चिम उपाधिका लागि भिडिरहेका छन्।

फाइनलका लागि लुम्बिनीले आफ्नो प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन। सुदूरपश्चिमले भने एक खेलाडी परिवर्तन गरेको छ। उसले फाबियन एलनको स्थानमा सैफ जैबलाई टोलीमा समावेश गरेको छ।

लिग चरण र पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनी यसपटक पनि त्यही लयलाई निरन्तरता दिँदै उपाधि रक्षा गर्ने लक्ष्यमा छ। अघिल्लो संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै हराएर उपाधि जितेको थियो।

सुदूरपश्चिम भने लगातार तेस्रो संस्करण फाइनल खेल्दैछ। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो। त्यसैले यसपटक उपाधि जित्दै लगातार फाइनलमा भोगेको हारको सिलसिला अन्त्य गर्ने अवसर सुदूरपश्चिमसँग छ।

फाइनलअघि दुवै टोलीका कप्तानले उपाधि भिडन्तका लागि आफूहरू तयार रहेको बताएका थिए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अघिल्ला खेलबाट सिक्दै टोलीले राम्रो तयारी गरेको बताएका थिए। यस्तै लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले तीन दिनको विश्रामपछि टोलीले प्रभावकारी अभ्यास गरेको र उपाधिका लागि उत्साहित रहेको बताएका थिए।

सुदूरपश्चिमको प्लेइङ–११: दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, सैफ जैब, आरिफ शेख, इशान पाण्डे, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, दीपक बोहरा र जर्ज मुन्से।

लुम्बिनीको प्लेइङ–११: रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दिलीप नाथ, किशोर महतो, रुबेन ट्रम्पलमेन, निरोशन डिक्वेला, डार्सी सर्ट र अली शेख।

Leave A Reply

Your email address will not be published.