दार्चुलामा क्षतिग्रस्त मोबाइल टावर पुनः निर्माणका लागि कांग्रेस नेता नरेन्द्र धामीद्वारा निर्देशनालयमा ध्यानाकर्षण
"दार्चुलाको संचार संकटमा कांग्रेस नेता धामीको कूटनीति, टेलिकमले दियो तत्काल मर्मतको वाचा"
दार्चुला– दार्चुला जिल्लाको विकट ग्रामीण क्षेत्रमा अविरल वर्षा र हावाहुरीका कारण क्षतिग्रस्त भएका मोबाइल टावरहरूको पुनःनिर्माणका लागि नेपाली कांग्रेसका नेता तथा मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्रसिंह धामीले नेपाल टेलिकमका उच्च अधिकारीहरूको ध्यानाकर्षण गराएका छन् ।

गत २०८२ जेठ ५ गतेको अविरल वर्षा र आँधीहुरीका कारण मालिकार्जुन गाउँपालिका–७ पासादेउ र अपिहिमाल गाउँपालिका–६ पाथास्थित मोबाइल टावरमा गम्भीर क्षति पुगेपछि सो क्षेत्रको संचार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
त्यसपछि नेता धामी टेलिकमको मोबाइल सेवा निर्देशनालय, बबरमहल पुगेर प्रमुख निर्देशक प्रेम सिलवाल, प्रबन्धक मिलन श्रेष्ठ, उपप्रबन्धक निर्मल घिमिरे लगायतका अधिकारीहरूसँग भेट गरेका थिए ।

छलफलका क्रममा उनले दार्चुलाका दर्जनौं गाउँहरू अझै पनि संचार सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै विगत २०७५ सालदेखि आफू निरन्तर टेलिकमसँग समन्वयमा रहेर काम गरिरहेको जानकारी गराए। उनले हाल क्षतिग्रस्त टावरहरूलाई यथाशिघ्र मर्मत तथा पुनःनिर्माण गरी सेवा पुनःस्थापना गर्न आग्रह गरे ।
प्रतिक्रियामा निर्देशक प्रेम सिलवालले उक्त विषयलाई गम्भीर रूपमा लिएर सम्बन्धित युनिटहरूलाई तत्काल आवश्यक निर्देशन दिइसकेको जानकारी गराउँदै, केही दिनभित्रै प्राविधिक टोली प्रभावित क्षेत्रहरूमा खटिने र संचार सेवा सुचारु गरिने प्रतिबद्धता जनाएका छन । उनका अनुसार टेलिकम दार्चुलाको सम्पूर्ण भूभागमा सेवा विस्तारका लागि सक्रिय रहेको छ । हालै ब्याँसको सुन्सेरा, मालिकार्जुनको सुङरखाली र लेकमको गोदालीमा टावर निर्माण सम्पन्न भइसकेको र एक महिनाभित्र सेवा सञ्चालन हुने जानकारी उनले दिए । साथै रेबली, चौकी, काटैजस्ता स्थानहरूलाई आगामी वर्षको योजना अन्तर्गत टावर निर्माणको प्राथमिकतामा राखिएको पनि उनले बताए ।
नेता धामीले आफ्ना प्रस्तावअनुसार कैयौं स्थानमा टावर निर्माण सम्पन्न हुनु र केही स्थान योजनामा समावेश हुनु सकारात्मक उपलब्धि भएको भन्दै नेपाल टेलिकम र मोबाइल सेवा निर्देशनालयप्रति आभार व्यक्त गरे ।