सरकारी कागजात किर्ते : शैल्यशिखरका मेयरका छोरा र कृषि शाखा प्रमुख पक्राउ

शक्तिको आडमा सरकारी कागजात किर्ते: शैल्यशिखर नगरप्रमुखका छोरा सहित दुई जना पक्राउ

दार्चुला— सरकारी योजनाको रकम हडप्न शैल्यशिखर नगरपालिकाका कर्मचारीहरूले जीवित व्यक्तिलाई मृत देखाएर झूटा कागजात बनाएको खुलासा भएको छ । योजनाबद्ध रूपमा सरकारी कागजात किर्ते र जालसाजी अभियोगमा नगरपालिका कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी (नगरप्रमुख विजयसिंह धामीका छोरा) पक्राउ परेका हुन् ।

जिल्ला अदालतको अनुमति प्राप्त गरी उनीहरूलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले ‘ओखर पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत सरकारी रकम लुट्ने उद्देश्यले कृषक समूहका जिम्मेवार सदस्यहरूलाई मरेको देखाउने जालसाजी गरेका थिए भन्ने पुष्टि भएको छ । कृषि शाखा प्रमुख विष्ट र भेटेरिनरी प्राविधिक धामीले मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई जीवित हुँदाहुँदै “मृत” देखाउने झूटा कागजात तयार पारे। उक्त प्रमाणपत्रको आधारमा ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा पत्राचार गरी समूहको खाताबाट नयाँ अध्यक्ष जनकसिंह धामी (आफैँ) र सचिव बसन्ती बोहराको हस्ताक्षरलाई मान्यता दिन अनुरोध गरिएको थियो ।

निष्क्रिय रहेको खातालाई सक्रिय बनाएर सरकारी रकम निकाल्ने अन्तिम तयारी भइरहँदा षड्यन्त्रको पर्दाफास भएको हो । समूहकी कोषाध्यक्ष जानकी धामीको भनाईमा “हामीलाई केही थाहा थिएन। कार्यक्रमबारे खबरसमेत गरिएको थिएन। पछि मात्र थाहा भयो कि हामीलाई मरेको देखाएर कागज बनाइएको रहेछ।“ सचिव मञ्जु धामीले समूहको खाता वर्षौंदेखि निष्क्रिय रहेको र त्यसलाई सक्रिय पार्नैका लागि यस्तो जालसाजी भएको बताइन्।

यो सबै खुलासा भएपछि स्थानीयबासीहरू आक्रोशित बनेका छन् । भेटेरिनरी प्राविधिक जनकसिंह धामीले समूहका सदस्यहरू खाता नविकरणमा सहयोग नगरेको भन्दै रिसको भरमा मृत्यु प्रमाणपत्र बनाएको स्वीकारेका छन् । “गल्ती गरेँ, सजाय पाउँ,“ उनले भनेका छन्। कृषि शाखा प्रमुख दीपकराज विष्टले अध्यक्षले ल्याएको निवेदन र माइन्युटका भरमा बैंकमा पत्राचार गरिएको स्वीकार गर्दै भने, “मृत्यु दर्ता प्रमाणपत्र मागिनुपथ्र्यो, त्यो लापरबाही हाम्रो हो।“ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले प्रारम्भिक जानकारी आएपछि आन्तरिक अनुसन्धान थालिएको जानकारी दिए । “कर्मचारी वा सम्बन्धित पक्ष दोषी ठहरिए भने प्रचलित कानुनअनुसार कारबाही हुन्छ,“ उनले स्पष्ट पारे।

‘ओखर पकेट क्षेत्र कार्यक्रम’ कृषि तथा वन मन्त्रालयअन्तर्गत सञ्चालित कार्यक्रम हो, जसले स्थानीय कृषक समूहहरूलाई बिरुवा, तालिम, तथा अनुदान सामग्री उपलब्ध गराउने उद्देश्य राखेको थियो। तर शैल्यशिखरमा भने सरकारी स्रोतको दुरुपयोग गरी सत्ता, पहुँच र पदको आडमा सार्वजनिक सम्पत्तिमा हानिकारक हस्तक्षेप गरिएको स्पष्ट देखिन्छ । यस घटनाले प्रशासनिक संयन्त्रमा घुसेको भ्रष्टाचारको गहिरो संक्रमण उजागर गरेको छ। नगरप्रमुखकै छोरा भ्रष्टाचारमा मुछिनु र सम्बन्धित शाखाका प्रमुखको प्रत्यक्ष संलग्नता देखिनु गम्भीर संकेत हो।

Leave A Reply

Your email address will not be published.