दार्चुलामा म स्वस्थ मेरो समुदाय स्वस्थ कार्यक्रम लागू गर्न तीन वटा स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको माग गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिका मध्ये हालसम्म एक नगरपालिका र दुुई गाउँपालिकाले जनस्वास्थ्य अधिकृतको माग गरेको जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ देखि स्थानीय तहबाट संञ्चालन गरिने स्वास्थ्य सशर्त अनुदान तर्फ म स्वस्थ मेरो समुदाय स्वस्थ कार्यक्रम लागू गर्न लागिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
आयुर्वेद योग ध्यान तथा परम्परागत चिकित्सा विधिमार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गर्नका लागि यो कार्यक्रम संच्चालनमा आएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र भट्टले जानकारी दिनुभयो ।
जसअनुसार दार्चुलामा हालसम्म महाकाली नगरपालिका, व्यासँ गाउँपालिका र दुहुँ गाउँपालिकाले जनस्वास्थ्य अधिकृतको माग गरेका छन । महाकाली नगरपालिकाले आवेदन दिने अन्तिम मिति भाद्र २० गतेसम्म राखेको छ । यस्तै व्यासँ गाउँपालिकाले आवेदन दिने अन्तिम मिति भाद्र २३ र दुहुँ गाउँपालिकाले आवेदन दिने अन्तिम मिति भाद्र १९ गतेसम्म राखेको छ ।
स्थानीय तहको करार सेवामा नियुक्त भएका जनस्वास्थ्य अधिकृतले पालिकाका सबै स्वास्थ्य संस्थाहरु र विद्यालय नर्स लगायकता जनशक्तिसँग समन्वय गरेर तथ्यांकहरु संकलन गर्ने काम गर्ने छन् । यसका साथै उनीहरुले नागरिक आरोग्य कार्यक्रमलाई पनि सहजीकरण गर्दै प्रभावकारी कार्यान्वयनमा लैजाने छन् ।
यो कार्यक्रम दार्चुलाका अन्य पालिका सहित देशभरीका स्थानीय तहमा संञ्चालन गरिने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि ९५ अर्ब ८१ करोड रुपैया बजेट विनियोजन गरेको छ ।