सुदूरपश्चिमेली महिलाहरूको महान चाड गाैरापर्व

यसपालि २०८२ सालकाे गाैरा पर्व भाद्र – १५ गते परेकाे छ । गाैरा पर्वकाे उपलक्ष्यमा सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिकाे हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । गाैरापर्वका अधिष्ठाता पूजित देवता भनेका शिव र पार्वती हुन् । शिवजी र पार्वतीलाइ मात्रै पुज्ने देवता मानेर गाैरा पर्वको सिर्जना भएको कुरा स्कन्द पुराणको मानसखण्डमा उल्लेख भएकाे पाइन्छ । जस अनुसार :- यो मानसखण्डमा पर्ने मानसरोवर कैलाश पर्वतको एक कन्दरामा हिमालय पर्वतकी चेली गौरीले महादेव शिवलाइ मात्र पति पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाएर १२ बर्ष सम्म निर्जन हिमालयको कन्दरामा कष्टपूर्ण तपस्या र पूजा गरेर बसेको प्रतिफलमा उनले श्री महादेवलाइ पति पाएको हुनाले हिमालय पुत्री गौरीले त्यही शिव पार्वती सम्वन्धी विवाह विधि र पूजन अर्चन गरेको विषयलाइ आधार बनाएर त्यसै बेलादेखि सुदूर पश्चिमका नारीहरूले हिमालयकी पुत्री गौरीलाई गोः रा–गौरा–गमराको प्रतिमूर्तिका रुपमा शिवपार्वतीको पूजा आजा र व्रत उपवास बस्दै आएका छन् ।
गाैरा सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गाैरा पर्व विशेष गरेर दार्चुला, बैतडी र कुमाऊँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । गाैरा पर्व भाद्र कृष्ण पक्षको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गाैरा पर्वको पहिलो दिन महिलाहरूले निराहार उपवास बसी आ-आफ्नो घरमा वा भणारी घरमा भण्डार घर) तामा वा पित्तलको भाँडोमा बिरुडा अर्थात् पाँचथरीका अन्न गेडागुडी (कलौं, गुराँस,मास, गहुँ, गहत) भिजाउने गर्दछन् । गाैरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघर (भणारी घर) मा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गाैराघरमा भित्र्याउँछन् । धेरै जसो ठाउँमा त आजभोली तामा, पित्तल, चाँदीको गाेंराको प्रतिमा बनाई डालोमा विभिन्न थरिका फलफूल राखेर रातो पहेंलो घुम्टो ओडाएर टाउकोमा राखेर खेल्ने, खेलाउने र नाच्ने गर्दछन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गाैरालाई गाैराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गाैरा) को पूजाआजा गर्ने गरिन्छ । गाैरा भित्र्याइसकेपछि बिसर्जन नगरिएसम्म गाैराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, ठाडो खेल, डुस्को, दोहोरी, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ । सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गाैरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ ।
गाैरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलिपल्ट पानीका मुहान र पँधेरामा शुभ मुहुर्तमा सामुहिक रूपमा बिरुडा धोएर नाचगान सहित गाैरा देवीको प्रतिस्थापन गर्ने चलन छ । पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन् । अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको
छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ ।
धन्यवाद !

Man singh Dhami
मान सिंह धामी (औल्लेकी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस धनगढी,
कैलाली
स्थायी ठेगाना :
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला
स्राेत सामाग्री :
भट्ट, काशीदत्त (२०४३), मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार : फ्रैन्डस प्रिन्टिङ प्रेस ।
बडु, ईश्वरदत्त (२०७१), दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
पन्दत, याकृष्ण (२०६७), दार्चुलाको इतिहास महेन्द्रनगर ।
धामी, राजेन्द्र, दामाेदर (२०७८), आराध्यदेव हुनैनाथकाे महिमा तथा औल्लेकी धामीहरुकाे वंशावली । गाेकुलेश्वर, दार्चुला । 
पाण्डे, वद्रीदत्त (२०१९), कुमाऊँ का इतिहास, भारत

Leave A Reply

Your email address will not be published.