दार्चुला । दार्चुलामा गौरापर्व अवधिभर मदिराजन्य पदार्थको विक्री वितरण बन्द गरिने भएको छ । जिल्लाका विभिन्न मठमन्दिर तथा स्थानहरुमा गौरा पर्वको अवसरमा लाग्ने मेला अवधिभर मदिराजन्य पदार्थको विक्री वितरण बन्द गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्धारा जारी गरिएको सार्वजनिक सुचना मार्फत गौरापर्वमा कुनैपनि किसिमको अवाच्छित गतिविधिहरु हुन नदिई गौरापर्वलाई शान्तीपुर्ण र सभ्य रुपमा सम्पन्न गर्नका लागि मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाइएकोे जानकारी दिनुभयो । गौरापर्व अवधिभर मदिराजन्य पदार्थको विक्री वितरण बन्द गर्न आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पनि निर्णय गरेको छ ।
बैठकले शैल्यशिखर नगरपालिकाको वडा –६ अन्तरर्गत उल्लानी, चैलिचौर,र पनेवाज,मालिकार्जुन गाउँपालिकाको सम्पुर्ण क्षेत्र,तथा महाकाली नगरपालिकाको वडा ७ र८का साथै गौरा मेलालाग्ने जिल्लाभित्रका अन्य स्थान हरुमा समेत मदिराजन्य पदार्थको विक्री वितरण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
उक्त निर्णयको उल्लघंन हुनेगरी कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने सुचना मार्फत नै प्रशासनले चेतावनी दिएको छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा विहिबार देखि विधिवत् रुपमा सुरु भएको छ । गौरा पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन् ।
गौरा पर्व नजिकिए संगै गाउँघर देउडाका भाकाले गुन्जिन थालेका छन् । परापूर्व कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ ।
गौराका लागि भारतमा रोजगारी गरेर फर्कनेहरुको संख्या पनि बढ्दै गएको छ । यो वर्षको गौरापर्व भाद्र १५ गते परेको छ ।