आज भित्रगौरा , सम्झाई रहेछ ति कहाली लाग्दा दिनहरु

लेखक : पत्रकार हरि प्रसाद जोशी

गाउँका काका,बाजे,दादा आफन्ती सबैजना भारतको देवलथल , पिथौरागढ, कणालिछाना लगायत विभिन्न ठाउँहरुमा कुल्लीकाम गर्न जानुहुन्थ्यो यहि गौराको लागि । गौराको तयारी हिउँद (मंसिर -पुस) देखि नै सुरु भइहाल्थ्यो।

अहिले सम्झिन्छु, ती दिनहरु कथा बनिसकेका छन्:

हाम्रो मुख्य बजार जुलाघाट पारिपट्टि झुलाघाट यो बजार जान बिहान ३ बजेतिर ब्युझिएर गाउँको जम्बो टोलीसंग झोरो बालेर तय गरिने त्यो यात्रा आखाँ अगाडि झल्झली आउँछ। मुख्यतः वर्षभर जम्मा गरेको गाईभैँसी को घिउ लिएर कुणी, कुष्काडा ,बनबे , सेरा हुँदै झुलाघाट पुगेर मानबहादुर सेटजीकोमा बेचिन्थ्यो अनि बर्षभरी चाहिने सामान , लत्ताकपडा किनेर त्यहि दिन सेरा सम्मको यात्रा तय गरिन्थ्यो। हो, यो गौराले राम्रै सरप्राइज दिन्थ्यो नयाँ एकजोर लुगा , राति उज्यालो बनाउन काजबारका लागि ल्याइने १ लिटर मट्टितेल जसलाई लिम्भु(कुप्पी) मा राखेर खद्दरको बातो बनाई बाल्ने अनि यहि मट्टितेल हुने , रेडियो हुने घर केहि हुनेखाने अन्तर्गत नै पर्थे तर आफुसंग त यो अवस्था नि थिएन्।

भाई बहिनीहरुका लागि पनि यो गौराले राम्रै खुसी लिएर आउथ्यो, एकजोर स्कुल ड्रेस नै खुसीको कारण हुन्थ्यो। रफ कापी, अजन्ता फाउन्टेनपेनका लागि निलो मसी आहा यी सबै पाएपछिको खुसी स्वर्गीय आनन्द भन्दा कम हुन्नथ्यो।

यत्ति कहाँ हो र ? जुलाघाटबाट घर पुग्दा हरेक घरमा खुसी छाउँथ्यो। कोही आमाहरु पनि बजार जान्थे, केटाकेटी पनि जान्थे, बनबेको उकालो चढ्दा लाग्ने पानीको तिर्खा र कुष्काडामा खानेपानी पाउँछ भन्ने त्यो आशा अहिले को लागि साउथ इन्डियन फिल्मभन्दा कम लाग्दैन्।

घरमा ल्याइएका लुगा सिलाउन दम्यौणा(लुगा सिउने को गाउँघर) जाने गरिन्थ्यो जुन अहिले पनि केहि अवशेषको रुपमा बाकी नै छ। दिल्ली,बम्बै,जम्मुबाट लाहुरेहरु घर आउथे गौरा सुरु हुनुपूर्व १५,२० दिन पहिले देखि नै बेलुकी बेलुकी दमाहा बजाउने ति दिनहरु अहिले त लोपोन्मुख झै लाग्न थालि सके ।

सम्झना आउँछ, गाउँ पुग्ने बित्तिकै दिशा देखिन्थ्यो दिशा सफा गर्न कसैले पानी प्रयोग गर्थे भने कसैले पात र ढुङ्गा कै प्रयोग गर्थे जुन दिनहरु यदि हामीले स्मरण गर्यौं भने अहिलेका बच्चाहरुलाई त सपना जस्तै लाग्छ।

बुबा ठूलै परिवर्तन ल्याउँछु भनि माओवादीमा लागे आफु कैयन जस्तै बच्चाहरु जस्तै सानैदेखि केहि सिक्ने मौका वरिपरी नै परियो हलो जोत्ने, पढ्ने , आफन्तिसंगको सहकार्य आदि-आदि।

न गाउँमा कलेज थिए, पढ्ने जति भारत जान्थे मेल्लाउ,सिरोडा,झरकाडा,पपरथला,बोहरिगाउँ,दोबाटा,सर्मोली,मैखोली,सल्लाकैनोडा,गराडी, लगायत हामी सबैको समृद्धिको बाटो झुलाघाट थियो तर त्यो इतिहास बनिसकेको छ। माओवादीको जनयुद्धले २०६२/०६३ को जनआन्दोलनले नेपाल लाई संघीय लोकतान्त्रिक गणतन्त्र दिएसंगै हामी धेरै अघी पुगिसक्यौं एक्कैपटक असम्भाव्य परिवर्तन देखिरहेका छौं।

मित्रहरु ती दिनहरु सपना भइसके मेरो बुबाले परिवर्तन आफ्नै पालामा सम्भव छ भन्ने कुरा सम्भव भइसक्यो अहिले संसार हाम्रो घर वरिपरि छ । सडक, विद्युत्, खानेपानी,संचार, स्वास्थ्य, गाउँको सिहंदरवार सबै नजिक छ ती दिनहरु गइसके तर ती दिनहरुमा परिवर्तन सम्भव छ भन्नेहरु मेरा बाबा झै १,२ जना मात्रै हुन्थे तर अहिले त चेतनाको स्तरले आकाश छोएको छ। यो परिवर्तन जनयुद्धले नै सम्भव भएको हो। अझैपनि धेरै परिवर्तन गर्नु छ अबको परिवर्तन चेतनाको परिवर्तन नै हो, भ्रष्टाचार विरुद्ध, शुसासनका निमित्त, रोजगार का निमित्त परिवर्तन गर्नुछ फेरि असम्भव देख्नेहरु को त कमि छैन् तर आजकलको गौरापर्व आइफोन,सामसङ एस२५ अल्ट्रा, एन्ड्रोइड फोन हरु सहित आउँछ, लुगाहरु त फेरिफेरि कति हुन् कति ?

साच्चिकै भन्ने हो भने परिवर्तन धेरै भएको हो अब मेरै गाउँ पनि विदेश नभएको कमै छन् अबको दुनियाँ विश्व एक घर वाला भइसक्यो, विश्व एक घर मात्र होइन् मंगलग्रहमा बझाङका एक नेपालीले जमिन समेत किनिसक्यो ।

मलाई लाग्छ अहिलेको जुन जीबन छ यो २० बर्षपछि का लागि इतिहास बन्ने छ परिवर्तन त्यो गतिमा अघि बढि रहेछ।

✍️हरि प्रसाद जोशी पत्रकार महासंघ दार्चुला शाखाका सह-सचीव हुन।

Leave A Reply

Your email address will not be published.