हुनैनाथ मन्दिर र औतालेक चिनारी

लेखक :- मान सिंह धामी

सुदूरपश्चिम प्रदेश बिकट पहाडी दुर्गम जिल्ला दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाकाे वडा नम्बर -४ मा पर्ने प्राकृतिक सुन्दर रमणीय गाउँ हुनैनाथ हाे । हुनैनाथ औतालेकमा वरदानी ढाेकाका नामले परिचित न्यायका देवता हुनैनाथ मन्दिर निर्माणाधीन अवस्थामा रहेकाे छ । मन्दिरकाे पूर्व दक्षिण माेहडामा पहिराे नियन्त्रणकाे लागि हालसालै तटबन्ध निर्माण गरिएकाे छ । मन्दिरकाे चारैतिर घण्ट, त्रिशूल तथा ध्वजानृजाहरूले सु-सज्जित गरपएकाे छ । पैगाेडा शैलीमा निर्माणाधीन मन्दिरकाे निर्माण कार्य सम्पन्न भइसकेपछि अति सुन्दर आकर्षक देखिने छ । मन्दिरकाे केही तल आधुनिक हिङलाे गाडिएको छ । दसैँ तिहार तथा गाैरा, खेडी जस्ता चाडपर्वहरूमा भक्तजनहरू हिङलाे खेलेर आनन्दकाे अनिभूति गर्दछन् । वरदानी ढाेकाका नामले परिचित हुनैनाथ मन्दिरलाई आठाैं राष्ट्रिय धामकाे रुपमा विकसित गरिनु पर्ने आमनागरिककाे आवाज उठिरहेको छ । धामहरूमा बलि नहुने हुँदा मन्दिरकाे निर्माण कार्य सम्पन्न भइसकेपछि बलि प्रथा पूर्णरूपमा हटाउने अभियानमा पनि चलेकाे छ । हुनैनाथ स्वामीले सबैकाे कल्याण गरून् ।
हुनैनाथ औतालेक एउटा धार्मिक, ऐतिहासिक, प्राकृतिक रुपले  रमणीय र पर्यटकीय दृष्टिकाेणले महत्त्वपूर्ण स्थान
हाे । प्राचीन कालमा हुनैनाथ औतालेककाे नाम सेराेफेराे थियाे । सायद यस क्षेत्रकाे चारैतिर नागबेली आकारमा रहेका पहाड श्रृङ्खला र वरपर गाउँबस्ती भएकाे कारण सेराेफेराे भनेकाे हुनु पर्दछ भन्ने बुझाइ रहेकाे छ । बाह्राैं सताब्दीकाे मध्यतिर हुनैनाथ देवताकाे यस क्षेत्रमा अवतार भए पछि याे ठाउँलाई अवतारीलेक भनिन थालियाे । पछि अवतारीलेक शब्द अपभ्रंश भएर औतालेक नाम रहन गएकाे हाे । हुनैनाथ औतालेकलाई औललेक पनि भनिन्छ । किनकी उष्ण हावापानी भएकाे ओजीगाड खाेला किनार आसपासकाे क्षेत्रलाई औल र माथि चिसाे हावापानी भएकाे टुप्पाे पहाडी श्रृङ्खलालाई लेक भनिने हुँदा यी दुई शब्द औल र लेक मिलेर “औल्लेक” नाम रहन गएकाे हाे । मेराे बुझाईमा औतालेक र औल्लेक दुबै समानार्थी शब्द हुन ।   हाल औल्लेककाे गाेठ्युडी भाैनबाटा भन्ने ठाउँमा बसाेबास भए पनि औल्लेकमा पनि मेरा पुर्खाकाे गडाे (जमिन) हालसम्म पनि छ । हामी औल्लेकीहरू हाल जाे जहाँ बसे पनि औल्लेकी भनेर नै चिनिएका छाैं । औल्लेक क्षेत्र भित्र विभिन्न गाउँबस्तीहरू रहेका छन् ।
औल्लेक गाउँकाे सिरानमा आराध्यदेव हुनैनाथकाे मन्दिर रहेकाे छ । आराध्यदेव हुनैनाथ स्वामीलाई काेटी काेटी नमन गर्दछु । हुनैनाथ स्वामी काे हुन ? यिनकाे महिमा, अलाैकिक शक्ति आदिकाे बारेमा मैले याे भन्दा अगाडीकाे लेखमा उल्लेख गरिसकेको छु । औल्लेक भित्र विभिन्न गाउँहरू रहेका छन । मालिकार्जुन गाउँपालिका अन्तर्गत हुनैनाथ वडा नम्बर -४ काे क्षेत्रफल ११.६९ वर्ग किलाेमिटर रहेकाे छ ।
औल्लेक भित्रका गाउँबस्तीहरू प्राय: उर्बर कृषियाेग्य भूमि, जसमा पूर्वमा ऐरीछाना, दुवाचाैड, गाेठ्युडी, पश्चिममा गुरुम, सिलाजाे, टाटिक, काेटिला, उत्तरमा चन्दनपुर, रताेडा, चाेल्थी र दक्षिणमा औतालेक, क्यासिरी, जिउँछे आदि गाउँहरू रहेका छन् । वनजंगलहरू शाैलेवन, सिन्याडीवन, छ्याैडावन, रानीपातलवन, पाटा, जिउँछे पत्थरखानी, हल्देराैडा, हलगढी वसन्ढुङ्गा वन, भूमिराज सामुदायिक वन टाटिक, हुन्शिकर सामुदायिक वन, काेटिला वन क्षेत्र रहेका छन् । हुनैनाथ अाैल्लेक क्षेत्र भित्र लेकाली, मध्य पहाडी र बेसी भागहरू पर्दछन् । लेकाली भाग अन्तर्गत गाेठ्युडीकाे टुप्पाे स्याउलेकाे डाँडा, चाेल्थी, काेटिला, औतालेक, जिउँछे र गाैंराबनाैना गाउँहरू पर्दछन् । यी गाउँहरूमा हिउँदमा अलि बढी जाडाे हुने र हलुका हिमपात समेत हुने गर्दछ । मध्य पहाडी भाग अन्तर्गत गाेठ्युडीकाे तल्लाे भाग, रताेडा, क्यासिरी गाउँहरू पर्दछन् । बेसी भागहरूमा ओजीगाड, अपडखेत, जमुना बगर, सिलाजाे, टाटिक लगायतका गाउँहरू पर्दछन् ।
औल्लेक क्षेत्र भित्र पाईने विभिन्न फलफूल तथा वनस्पतिहरूमा- बाँज, गुराँस, सल्लाे, फल्याट, कटुँस, काफल, ओखर, सुन्तला, माैसमी, माेतीकाँकडी, अमृतफल (चालिसाे), आरु, आरुबखडा, खुमानी, स्याउ, चिउरी, नासपाती, टुणी, धुईयाे, बेल्टाे, पैंयाे, दुदिलाे, आँप, अमला, ओखर, काेइराल, हलुवावेद, चुक, जामिर, कागती, नासपाती, खर, खन्याे, बाँज, करमफल, भाेगटे, किम, तिमिलाे, कटमडाे, अम्बा, मेवा, केरा, दालचिनी, साल, हर्राे, मेल, उतिस, अँजेरु, किरमडा, ऐंसेलु, ओलिसाे, भ्यल,  बर्राे, जामुन, गिठी, सिर्पा, रिठा आदि पाइन्छन् ।
यस क्षेत्रमा पाइने जंगली तथा पाल्तु जनावरहरू रतुवा, बँदेल, घाेरल, खरायाे, वनबिरालाे, चितुवा, मलबाेसाे, ओद, छेपाराे, सर्प, स्याल, बाँदर, लंगुर, व्बाँसाे, ग्वाणाे, सडाे (दुम्सी), बिरालाे, मुसा, छुचुन्द्राे, गाई, भैंसी, बाख्रा, घाेडा, खच्चर आदि पाइन्छन् । गडानी खाेला, ओजीगाड र च्युरीगाडमा माछा, भ्यागुता, गंगटाे आदि जलिय जीवहरू पाइन्छन् । पंक्षीहरू काग, ढुकुर, काेइली, न्यउलाे, सुगा, कालिज, च्याखुरा, तितरा, भंगेरा, कठफाेरा, चमेराे, बाज, वनकुखुरा, चील, गिद्द, लाटाेकाेसेराे, लामपुछ्रे, कल्चाैंडाे, सिन्टाेलाे (डाङ्रे), काैकाताे, गाैथली, सिंङारी, घुक (हुबाग), गडमाल्ली, भेकुणाे आदि प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् ।
औल्लेक क्षेत्र भित्र आर्य हिन्दुहरू बसाेबास गर्दछन् । हाल यहाँ खस आर्यन हंशराज भट्टका सन्तान औल्लेकी धामीहरूकाे बाहुल्यता रहेकाे छ । अन्य जातिहरूमा अवस्थी ब्राह्मण, ओझा ब्राह्मण, खत्री, बाेहरा, रावल, मडाल धामी र उक्त बाहेक लाेहार, पार्की, ढाेली थरका मानिसहरू बसाेबास गर्दछन् । यस क्षेत्रमा हिन्दु संस्कृति अनुसार विभिन्न चाडपर्वहरू धूमधामपूर्वक मनाइन्छन् । यस्ता चाडपर्वहरूमा बिषु तिहार, रक्षा बन्धन (जनै पूर्णिमा), ओल्के संक्रान्ती, नाग पञ्चमी, हरेलाे चढाउने, कृष्ण जन्माष्टमी, गाैरा पर्व, खेडी, धाेडी, लमधाेडी, तीज पर्व, ऋषि पञ्चमी, साेह्र श्राद्ध, न्वाकी चढाउने, दशैं (नवरात्री), बुढी पाेल्ने, तिहार (दिपावली), जाैलजिबी मेला, पाैष पन्ध्रकी रात, माघे संक्रान्ति, श्रीपञ्चमी, महा शिवरात्री, हाेली पर्व, राम नवमी, चैतकाे भेटाैलाे आदि चाडपर्वहरू मनाइन्छन् । औल्लेक क्षेत्र भित्र विभिन्न बालीनालीहरूकाे उत्पादन हुने गर्दछ । यस क्षेत्रमा पर्याप्त मात्रामा भटमासकाे उब्जनी हुने गर्दछ । अन्य बाली तथा दलहनहरूमा धान, मकै, गहूँ, काेदाे, जाैं, मसुर, साेट्टा, गहत, मास, कागुन, आलस, सरसाें, ताेरी, गुराैंस, केराउ, सिमी आदि  उत्पादन हुने गर्दछन्
यस हुनैनाथ औल्लेकमा विभिन्न सामाजिक, धार्मिक परम्परा र संस्कारहरू रहेका छन् । बाह्राैं शताब्दितिर माेहम्मद गाेरीकाे गंगाकाे मैदानी भागमा आक्रमण हुँदा साे स्थान छाेडेर नेपाल प्रवेश गरेका वैदिक हिन्दुहरूले खसहरूलाई आफ्नाे प्रभावमा पारेकाे पाइन्छ । फलस्वरुप खस जातिले मठ मन्दिरमा हिन्दु देवीदेवताकाे मुर्ति स्थापना गरेर वैदिक हिन्दु पुजारीहरूद्वारा पुजाआजा गर्ने चलनकाे सुरुवात गरेका हुन । करीब बाह्राै तेह्राैं शताब्दितिर गडवाल कत्यूरबाट आप्रवासी आर्यनहिन्दुहरू हाल यस क्षेत्रमा बसाेबास गर्दछन् । धार्मिक परम्परा अनुसार यिनीहरू शिव, विष्णु, गणेश, राम, कृष्ण, ब्रह्मा, भगवती, गाैरी, लक्ष्मी, सरस्वती, दुर्गा, हुनैनाथ, बालिचन, मालिकार्जुन, शुन्सिखर, भागाश्री लगायतका देवीदेवताकाे पूजापाठ गर्ने गर्दछन् । विभिन्न देवी देवताकाे जपध्यानलगरी पूजापाठ गर्नाले आत्म शुद्धीहुने, देवी देवता र पितृहरू खुसीभएर सु:ख समृद्धीहुने जनविश्वास रहेकाे छ । यस क्षेत्रमा गरिने विभिन्न संस्कारहरूमा जातकर्म, षष्ठी खेलाउने, नामाकरण, अन्नप्रासन (पासनी), कर्णवेध, चुडाकर्म, वेदारम्भ (अक्षराम्भ), व्रतवन्ध (उपनयन), विवाह, मृत्यु संस्कार, श्राद्ध लगायतका संस्कारहरू गच्छेअनुसार मनाइन्छन् । त्यसैगरि अन्य चाडपर्वहरू … यसैगरी हुनैनाथ औल्लेक क्षेत्र भित्रका भाषाभाषी र भेष-भूषाहरू पनि उल्लेखगर्नु सान्दर्भिक हुन्छ । यस क्षेत्रमा बाेलिने प्रमुख स्थानीय भाषा डाेटेली नै हाे । जसलाई दार्चुलेली भाषा पनि भनिन्छ । याे भाषालाई सुदूरपश्चिमका प्राय: सबै क्षेत्र र कर्णाली प्रदेश तथा भारतकाे कुमाऊँ क्षेत्रसम्मका मानिसहरू सबैले बुझ्दछन् । धेरै जसाे ठाउँमा याे भाषाकाे मिश्रित भाषा बाेलिन्छ पनि । यस भाषालाई काेमल, कर्णपृय सरल र पुरानाे भाषाकाेरुपमा लिइन्छ । यस बाहेक सरकारी कामकाजकाे राष्ट्रभाषा नेपाली पनि सबैले बुझ्दछन् र कतिपयले बाेल्ने गर्दछन् । भेषभूषामा पुरुषहरूले कमिज, पाइन्ट, काेट, सुरुवाल, गन्जी, कच्छा (कट्टु), भादगाउँले टाेपी, ढाका टाेपी, वनियान, भेस्ट, इष्टकाेट, जाेहारीकाेट, सफारी सुट, जाकेट आदि लगाउने गर्दछन् । महिलाहरूले विवाह पूर्व कुर्ता, सुरुवाल, लेगी, कमिज, पाइन्ट, भेस्ट, स्वीटर, आउटर, दुपट्टा (चुन्नी) आदि लगाउने गर्दछन् भने विवाह पश्चात साडी, ब्लाउज, धाेती, पेटीकाेट, लुङ्गी, मुणेठाे, फरिया, चाैवन्दी चाेली, आङडाे, भाेटाे, पछ्याैरा, कुर्ति, सुरुवाल, मेक्सी तथा उमेर पुगेका बुढापाका महिलाहरूले घाँग्राे लगाउने गर्दछन् । साथै कम्मरमा सेताे पटुकी बाध्ने गर्दछन ।
महिलाहरूले लगाउने परम्परागत घाँग्राेकाे बारेमा थाेरै जानकारी गराउन चाहे । याे महिलाहरूले साडीकाे बदलामा लगाउने छिट वा कटनद्वारा निर्मित बुट्टेदार ८-१० मीटरकाे फराकिलाे रानाथारुहरूकाे पाेशाकसंग मिल्दाेजुल्दाे पाेशाक हाे । परम्परागत याे पाेशाककाे आफ्नै महत्त्व रहेकाे छ ।  चाैवन्दी चाेली र घाँग्राे अति नै भलादमी पाेशाक हाे । अहिलेकाे आधुनिकतालेगर्दा याे पाेशाक ओझेलमा पर्दै गएकाे छ । महिलाहरूकाे गरगहानाहरूमा गलाेवन्द, रानीहार, तिलहरी, चाैखट, सुता, चाँदीका रुपैयाँकाे हैकलमाला (चाैअन्नी, अठअन्नी वा भिक्टाेरिया रुपयाँकाे माला), नथ्थु (नथिया), मंगलसूत्र, मुनडा (मुन्द्री), बुलाकी, पैंडा (चाँदीबाट निर्मित खुट्टामा लगाउने), पायल, पाैंजी, कण्ठाश्री, चन्द्रहार-झुमझुमी, चरेवापाेते, मुगाकाे माला, चाँदीकाे बाला आदि गहनाहरू लगाउने गर्दछन् ।
खानाका परिकारहरूमा सेलराेटी, लाउन, पुरी, डुब्केभात, खजुरा (राजर्षि खाना), माणा, बाडी, कसार, पुताैकार पिनजरी (धुलाे), मैरी, खिचडी, जाउलाे, छाँई बटुक, गुन्द्रुक,  बाबर, बटुक, खीर, दाल,भात, तरकारी, डुब्का, हलुवा, सैय्या, राेटी, फुल्क्या राेटी, घिउ केला, घिउ गुड,  तरकारी, छाँई हालेकाे साग, दूध, धिनाली (दही), छाँई, गाल्यूँ, घिउ, नाैनी, राइताे, घाराे, फाणाे, राेट (भटमास, मास, साेट्टाकाे मस्युटाे हालेर बनाईएकाे), पलेउ, कुराैनी, झँज्या राेटी आदि खानाका परिकारहरू खाने गर्दछन् । परम्परागत आभूषण, पाेशाक, खानपानमा समय सान्दर्भिक परिवर्तन हुँदै गएकाे देखिन्छ ।
मान सिंह धामी (औल्लेकी)
उप-प्रध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा) दार्चुला

Man singh Dhami

     

Leave A Reply

Your email address will not be published.