काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक ल्याउन नचाहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलवार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले उक्त विधेयक अघि नबढाएको आक्रोश व्यक्त गरे। बडूले उक्त विधेयक सरकारले नचाहेकाले समितिमा अघि बढ्न नसकेको पनि बताए।
बडूले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक पारित हुन बाँकी छ। यो छलफलमा नल्याई रोकिएको अवस्था हो। यसलाई यथासम्भव छिटो छलफलमा ल्याउनुपर्छ। यो छलफलमा ल्याउने दायित्व सरकारकै हो।
सरकारले यसलाई अघि नबढाएर हाउसमा नपु¥याउने र समितिमै राखिराख्ने मनसाय देखियो। यो ठिक भएन।’
काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमारले उक्त विधेयक अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रीहरूलाई तत्काल दबाब दिन समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई सुझाव दिए।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले उक्त विधेयक समितिमा अघि बढाउन सभापति न्यौपानेलाई दबाब दिए। उनले विगतमा पनि समितिका निवर्तमान सभापति रामहरि खतिवडाले उक्त विधेयक अघि बढाउन नदिएको गुनासो गरे।