लटिनाथ स्वास्थ्य चौकीको स्वास्थ्य अभियान सम्पन्न

दार्चुला। मार्मा गाउँपालिका–२ स्थित लटिनाथ स्वास्थ्य चौकिले स्वास्थ्य अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल, नसर्ने रोग परीक्षण र बालबालिकाको पोषण लेखाजोखा गरेको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ त्रैमासिक कार्यक्रम अन्तर्गत वडाका टोलहरूमा भदौ २१–२३ गतेसम्म क्षयरोग खोजपड्ताल, नसर्ने रोग परीक्षण र बालबालिकाको पोषण लेखाजोखा गरिएको हो ।

अभियानमा ३ सय ४० जनालाई सेवा दिइएको लटिनाथ स्वास्थ्य चौकीका प्रमुख बसन्त खत्रीले बताए । उनका अनुसार ८७ जना ६–५९ महिनासम्मका बालबालिका, २० जना पाठेघरसँग सम्बन्धित समस्या भएका महिला, १६ जना स्वासप्रस्वासका दीर्घ बिरामी र बाँकी अन्य सेवासँग सम्बन्धित बिरामीलाई सेवा दिइएको थियो।

अभियानको क्रममा ५ जना मध्यम शिघ्र कुपोषणका बालबालिका पत्ता लागेका उनले बताए। स्वास्थ्य चौकीले २४ जना बालबालिकालाई बालभिटा समेत वितरण गरेको छ।

‘स्वास्थ्य सेवा अभियानको मुख्य उद्देश्य सरकारी स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्दै बालबालिकाहरूको शिघ्र कुपोषणको परीक्षण गर्ने, ४० वर्षमाथिका सबै जनसमुदायको नसर्ने रोग परीक्षण गर्ने र क्षयरोग परीक्षण तथा सम्पर्क परीक्षण गरी समयमा निदान गर्ने रहेको छ,’ उनले भने।

लटिनाथ स्वास्थ्य चौकीले सञ्चालन गर्ने सम्पूर्ण स्वास्थ्य कार्यक्रम, अभियान तथा अन्य कार्यतालिका समावेश गरी वार्षिक कार्यतालिका २०८२÷८३ तयार तथा प्रमाणित गरी कार्य सम्पादन गर्दै आएको छ।

‘अगामी स्वास्थ्य अभियान मंसिर महिनाको २१–२३ गतेसम्म सञ्चालन गर्ने योजना छ,’ स्वास्थ्य चौकी प्रमुख खत्रीले भने। अभियानमा जनस्वास्थ्य निरीक्षक बसन्त खत्री, सिनियर अहेब दीपक विष्ट, सिनियर अनमी सरस्वती सिंह, अनमी आशा भट्ट, ल्याब असिस्टेन्ट विरज विष्ट र कार्यालय सहयोगी राजेन्द्र महरा सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.