दार्चुला । दार्चुलामा भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गरिएको छ । जिल्लाको जनजीवन सामान्य बन्दै गएपछि प्रदर्शनका क्रममा क्षति गरिएका भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न थालिएको हो ।
प्रहरीमार्फत क्षतिग्रस्त कार्यालयको यकिन विवरण सङ्कलन गर्दै विवरण उठाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भदौ २४गते भएको प्रदर्शनमा जिल्लाका राजाितिक दल,वडा कार्यालय विद्यालय भवन अस्पताल लगायत कारागारमा भौतिक रुपमा तोडफोड आगजनीको प्रयास गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाभर नेकपा एमालेको पार्टी कार्यालय,नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, र नेपाली कांग्रेसको पार्टी कार्यालमा तोडफोड आगजनीको प्रयास गरिएको थियो ।
यस्तै दुँहु गाउँपालिकाको वडा ३ र शैल्यशिखर नगरपालिकाको वडा २ को वडा कार्यालयमा जेनजीको नाउँमा अज्ञात समुहले तोडफोड आगजनीको प्रयास गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
यस्तै जेनजीको नाउँमा अज्ञात समुहले गोकुलेश्वर अस्पताल र जिल्ला सदरमुकाम खलंगामा रहेको छान्ना तिंकरी कन्यामाविमा समेत तोडफोड गरेको उहाँले बताउनु भयो ।
अन्य स्थानीय तह र सरकारी कार्यालयहरुका संरचनाहरुमा कुनै क्षति नभएको बताइएको छ । प्रहरीले क्षतिको विवरण आइतबारदेखि सङ्कलन गरिरहेको छ ।
प्रहरीले विवरण सङ्कलन गरिसकेपछि सरसफाइ गरेर अत्यावश्यक र प्रशासनिक काम अघि बढाएको प्रशासनले जनाएको छ । प्रदर्शनका क्रममा तोडफोड आगजनी गर्ने व्यक्तिहरुको खोजीकार्य भइरहेको छ ।