दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व मनाइदैँ छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।
एक महिना अगाडी (भाद्र संक्रान्तिका) दिन गाडिएको बुढीलाई आज बेलुकीपख पोल्ने पौराणिक प्रचलन रहेको छ ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दुध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको छ ।
पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।
भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज बेलुकी पोल्ने र सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने प्रचलन समेत रही आएको छ ।