दार्चुला । दार्चुलामा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालमा बिरामीको चाप पनि बढन थालेको हो । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये अधिकांश
विरामी भाइरल ज्वरोका रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५०–८० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पातालका सूचना अधिकारी डम्बर दत्त भट्टले बताए ।
अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको उहाँले बताउनु भयो ।
मौसम आएको परिवर्तनका कारण सङ्क्रमणको दर बढेको हुनसक्ने बताइएको छ । अन्य समयको तुलनामा हिजोआज भाइरल ज्वरोका बिरामी बढेको जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुले पनि बताएका छन ।
मौसम परिवर्तनसँगै अस्वस्थकर खाना प्रदूषित पानीका कारण भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा.रविन्द्र भट्टराईले बताए ।
स्वास्थ्यकर्मीहरुले भाइरल ज्वरोसहित रुघा, खोकी सङ्क्रमणबाट बच्न शुद्धीकरण गरिएको पानी प्रयोग गर्नुपर्ने तथा पोसिलो खानेकुरामा विशेष ख्यालराख्न आग्रह गरेका छन ।