दार्चुला । दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम खलंगामा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने तथा सरकारी कर्मचारी आ–आफ्नो जन्मथलो फर्किएपछि सदरमुकाम खलंगा सुनसान बन्दै गएको हो ।
रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट टाढा गएकाहरु दशैँ तिहारका लागि गाउँ फर्किन थालेपछि जिल्लाका ग्रामीण बस्तीमा निकै चहलपहल बढाएको छ । दसैँ नजिकिँदै गर्दा तराईबाट जन्मथलो गाउँघर आउने यात्रुको संख्या
बढेसंगै सवारीसाधनको चाप पनि बढेको यातायात व्यवसायीहरुले बताएका छन । अन्य समयमा सुनसान हुने गाउँहरु आजभोली चहलपहल बढेको शैल्यशिखर नगरपालिकाका स्थानीय राजेन्द्र धामीले जानकारी दिए ।
यस्तै अहिले रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उहाँले बताए । सीमा नाका पुलघाट लगायत जिल्लाका अन्य विभिन्न नाकाहरुबाट नेपाली स्वदेश फर्किनेक्रम पनि बढेको छ ।
यस्तै दशैंको बेला गाउँघरमा चहलपहल सुरु भएपछि सदरमुकाममा भने चहलपहल कम हुने गरेको सदरमुकामका एक ब्यापारी लोकेन्द्र धामीले बताए । सदरमुकाममा जिल्ला बाहिर तथा अन्य कर्मचारीहरुको बसोबास हुने भएकाले दशैंका लागि उनीहरु घर हिडेपछि सदरमुकाम सुनसान बनेको उहाँले बताए ।
यस्तै घटस्थापनादेखि दार्चुलाका शक्तीपिठहरुमा भक्तजनहरु पूजापाठका लागि जाने गरेका छन । बसाईसरेर गएकाहरुपनि दशैंको बेला पाठपुजाका लागी आउने गरेका छन् । दशैतिहार नजिक आएसंगै यहाँक स्थानीय बजारमा किनमेल गर्नेको संख्या पनि बढेको छ ।
दशै तिहारमा नयाँ लुगा लगाउने मिठो खाने प्रचलन अनुसार बजारमा किनमेल गर्नेको भिड लागेको स्थानीय व्यवपारी धर्मानन्द अवस्थीले बताए । दशैमा सबै परिवार जम्मा भएर रमाइलो गर्ने मिठो मसिनो खाने गर्दछन् ।
पहिले फाट्टफुट्ट ग्राहक आउने गरेको भएपनि दशै सुरु भएदेखि बजारमा किनमेल गर्नेको भिड लाग्ने गरेको अवस्थीको भनाई छ ।
दशैं तिहार जस्ता चाडपर्व नजिक आएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाएको जनाएको छ । प्रहरी बिषेश सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था कडा बनाएको दार्चुलाका प्रहरी प्रवक्ता छत्रबहादुर रावतले जानकारी दिए ।